एनसेलले निःशुल्क कल, एसएमएस र इन्टरनेट सेवाको अवधि बढायो, शुक्रबारसम्म उपलब्ध हुने

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेट सेवाको अवधि थप गरेको छ।
मुलुकको विषम परिस्थितिलाई ध्यानमा राख्दै सुरु गरिएको यो सेवा अब शुक्रबारसम्म उपलब्ध हुनेछ।
एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै सेवाको अवधि एक दिन थप गरिएको जानकारी दिएको हो।
कम्पनीले मंगलबारदेखि लागू हुने गरी दुई दिनका लागि यो सुविधा उपलब्ध गराएको थियो।
कम्पनीका अनुसार, हालको असहज परिस्थितिमा आम उपभोक्तालाई देश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले यो निःशुल्क सेवा प्रदान गरिएको हो।
यो सुविधा अन्तर्गत एनसेलका ग्राहकहरूले कुनै पनि शुल्क बिना एनसेल तथा नेपाल टेलिकमको नेटवर्कमा लोकल भ्वाइस कल गर्न, इन्टरनेट चलाउन र एसएमएस पठाउन सक्नेछन्।
भदौ २६, २०८२ बिहीबार १३:२६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।