'जेनजी साथीहरू रिसाउनु भएको छ, म बुझ्छु तर मेरो कुरा पनि सुनिदिनुहोस'

'जेनजी साथीहरू रिसाउनु भएको छ, म बुझ्छु तर मेरो कुरा पनि सुनिदिनुहोस'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी पुस्तालाई “तपाईंहरूले नै सम्हाल्नुपर्छ, बिग्रन दिन हुँदैन,” भन्दै माफी माग्दै सुध्रिने प्रतिबद्धता जनाएका छन्। उनले अहिलेको संविधानलाई निरन्तरता दिनुपर्ने समेत बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले राजनीतिक निकास संविधानभित्रै खोजिनुपर्नेमा जोड दिए। “संविधानको निरन्तरताबारे ध्यान दिनुपर्छ। हामीले जे कुरा गर्ने हो, यही संविधानमा टेक्नैपर्छ। नागरिक अधिकार खोस्ने अभ्यास समाजले स्वीकार गर्दैन, त्यस्तो भए फेरि अर्को आन्दोलन हुन्छ,” थापाले भनेका छन्।

'जेनजी साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ। साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्,' उनले भनेका छन्। 

उनले संविधानलाई जस्ताको तस्तै कायम राखेर आवश्यक संशोधन र परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

महामन्त्री थापाले पार्टी सुधार र नेतृत्व परिवर्तनको आवश्यकता स्वीकार गर्दै समाजले भनेअनुसार परिवर्तन गर्ने वाचा पनि गरेका छन्। उनले पुनर्निर्माणमा सबैको साथ र सहयोग अपरिहार्य हुने भन्दै गल्ती गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिए।

भदौ २६, २०८२ बिहीबार १२:४७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।