‘संविधान मास्न पाइँदैन’ भन्दै एमाले र कांग्रेसका कार्यकर्ता सडकमा, बबरमहलमा प्रदर्शन

‘संविधान मास्न पाइँदैन’ भन्दै एमाले र कांग्रेसका कार्यकर्ता सडकमा, बबरमहलमा प्रदर्शन

काठमाडौं : जेन-जी आन्दोलनमा ३० जनाको नरसंहार गरेको एमाले र नेपाली कांग्रेस गठबन्धनका कार्यकर्ताहरूले संविधान रक्षाको माग गर्दै काठमाडौंको बबरमहल र नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

उनीहरूले ‘सैनिक शासन चाहिँदैन, संविधान मास्न पाइँदैन’ जस्ता नारा लगाउँदै वर्तमान राजनीतिक प्रणाली र संविधानको पक्षमा ऐक्यबद्धता जनाएका हुन्।

प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरूले ‘विदेशी हस्तक्षेप मुर्दाबाद’ को नारासमेत लगाएका छन्, जसले वर्तमान राजनीतिक संकटमा बाह्य शक्तिको चलखेल भएकोतर्फ संकेत गरेको छ।

देशमा जेन-जी आन्दोलनले अन्तरिम सरकारको माग गरिरहेको बेला प्रमुख दलका कार्यकर्ताहरू भने वर्तमान संविधान र व्यवस्थाको पक्षमा सडकमा उत्रिएका हुन्।

प्रदर्शनस्थलमा खटिएका नेपाली सेनाका जवानहरूले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रहन र प्रदर्शन नगर्न आग्रह गरिरहेका छन्। यसले गर्दा बबरमहल क्षेत्रमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।

यसका अलावा नेपाल विद्यार्थी संघका पूर्व कोषाध्यक्ष समेत रहेका शिव रिमाल सहितको समूहले राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका छन्। राष्ट्रपतिलाई सार्वजनिक गर संविधानको रक्षा गर लोकतन्त्र जिन्दावादको नारा उनीहरूले लगाएका थिए।

भदौ २६, २०८२ बिहीबार १२:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।