लुम्बिनी प्रदेशमा राजधानीबाहेक प्रदेशभरका सरकारी संरचना र नेताका घरमा आगजनी, तोडफोड

लुम्बिनी प्रदेशमा राजधानीबाहेक प्रदेशभरका सरकारी संरचना र नेताका घरमा आगजनी, तोडफोड

बुटवल : जेन-जी पुस्ताले मंगलबार गरेको प्रदर्शनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सरकारी कार्यालय ध्वस्त भएका छन्।

सरकारी कार्यालय, दलका कार्यालय, नेताका घर मात्र होइन, ठूला व्यवसायी एवं पर्यटन व्यवसायीका संरचनामा पनि आगजनी र तोडफोड गरिएको छ।

जनताको अर्बौं करबाट निर्माण भएका संरचना अहिले खरानी बनेका छन्। शासकहरूको क्रूरता र दमन पश्चात् फैलिएको जेन-जीको आन्दोलनले प्रदेशमा अर्बौं होइन, खर्बौंको क्षति भएको आकलन गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र निरंकुशताकै कारण सिंगो देशले यतिबेला ठूलो क्षति व्यहोर्न पुग्यो।

जेन-जी पुस्ताको आन्दोलनका कारण २६ घण्टामा सत्ताच्युत हुन पुगेका ओली कलंकित मात्र बनेका छैनन्, यो पुस्ताले सधैँ स्मरण गर्ने कुपात्रको पहिचान बनाएका छन्। उनकै हठले देश आज यो परिस्थितिमा आएको छ।

जेन-जी पुस्ताको पहिलो दिनको आन्दोलनमा १९ जनाको नरसंहार गर्ने ओलीले पदबाट तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा आफ्नो दम्भ र हठकै कारण देशमा ठूलो क्षति हुन पुग्यो। १९ जना युवाको ज्यान गएपछि संयमित हुनुपर्नेमा ओली एक कदम पछि हटेर आन्दोलनलाई सामान्य ठान्दा आज देशभरका सरकारी तथा व्यक्तिका घर खरानी बने।

लुम्बिनी प्रदेशका सबैजसो सरकारी कार्यालयमा जेन-जी पुस्ताले आगो लगाएका छन्।

रुपन्देहीमा बुटवल उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, लोकसेवा आयोग, प्रदेश प्रमुखको कार्यालय, आन्तरिक राजस्वको कार्यालय, एमाले पार्टी कार्यालय, माओवादी केन्द्रको पार्टी कार्यालय, नेपाली कांग्रेसको पार्टी कार्यालय, विभिन्न निर्देशनालयहरू, जीवराज आश्रित प्रतिष्ठान लगायतका सरकारी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ।

बुटवलको भाटभटेनी, भैरहवाको भाटभटेनी, बुटवलको होटल डिम इन्टरनेसनल, तिलोत्तमाको डिमल्यान्ड गोल्ड रिसोर्ट, होटल टुलिपमा आगजनी गरिएको छ। उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पनि जेन-जीको समूहले आगजनी गर्यो।

सांसद एवं पालिका प्रमुखका घर पनि जेन-जी पुस्ताको निशानामा परे। एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य वासुदेव अर्याल, प्रदेश सांसदहरू भोजप्रसाद श्रेष्ठ, लीला गिरी, भूमिश्वर ढकालको घर तोडफोड भयो।

सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माको घरमा आगजनी गरियो। उपप्रमुख विना रानालाई जेन-जीको समूहले कालोमोसो नै लगायो। सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेको घरमा पनि आगजनी गरियो।

कपिलवस्तु जिल्ला कारागारबाट कैदीबन्दी भाग्न सफल भए। त्यहाँबाट ४३५ कैदीबन्दी भागेका छन्। उनीहरूले जिल्ला अदालतमा समेत आगजनी गरे। एमाले कपिलवस्तुका पूर्व अध्यक्ष डम्बर शर्माको घरमा तोडफोड र आगजनी भयो। नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपकुमार उपाध्यायको घरमा आगजनी गरे।

बाणगंगाका मेयर चक्रपाणी अर्याल, भूमिसुधार मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री बलदेव खनालको घरमा पनि जेन-जीको समूहले आगजनी र तोडफोड गर्यो।

प्रदेश राजधानी रहेको दाङ जिल्लाका सरकारी कार्यालय पनि ध्वस्त भएका छन्। त्यहाँका सबै नेताका घरमा आगजनी र तोडफोड भएको छ। घोराही, तुलसीपुर उपमहानगरपालिकामा आगजनी भयो।

तुलसीपुरको उच्च अदालत, उच्च सरकारी वकिल कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति, भू तथा जलाधार कार्यालय, नेपाल आयल निगमको कार्यालय लगायतका कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरिएको थियो।

बुटवलको मालपोत, सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालय, यातायात व्यवस्था कार्यालय (सवारी)मा पनि आगजनी गरिएको छ। डिभिजन सडक कार्यालय बुटवल, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका सहितका स्थानीय तहका प्रमुख प्रशासनिक केन्द्र पनि जेन-जीको निशानामा परे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर अर्घाखाँचीमा पनि तोडफोड भएको छ। दाङ विजौरीस्थित एमाले महासचिव शंकर पोखरेलको घर, एमाले नेतृ कोमल वलीको रिसोर्ट, कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहितका नेताको घरमा पनि तोडफोड र आगजनी गरिएको छ।

गुल्मीमा पनि सरकारी कार्यालय र पार्टीका कार्यालयहरूमा आगजनी गरिएको छ। नवलपरासीमा एमाले नेता दीपेन्द्र अधिकारी, धीरज शर्माको घरमा आगजनी तथा तोडफोड गरिएको छ।

जिल्लाको बर्दघाट, सुनवल, रामग्राम नगरपालिका सहित जिल्लाका सरकारी कार्यालयमा पनि आगजनी गरिएको छ। कांग्रेसका नेता विक्रम खनाल, नेता हृदयेश त्रिपाठीको घर पनि आगजनी भएको छ।

त्यस्तै प्यूठान, बाँके, बर्दिया, पाल्पामा पनि सरकारी कार्यालय ध्वस्त पारिएको छ। बुटवलमा जनमोर्चाको कार्यालय जलाइएको छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको घर खोज्दै जेन-जीको समूह हिँडे पनि भाडामा बस्ने थाहा पाएपछि उक्त घरमा भने उनीहरूले तोडफोड गरेनन्। भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल बाहिर समेत उनीहरूले आगजनी गरेका थिए।

प्रदेशभरका सरकारी कार्यालय ध्वस्त हुँदा लुम्बिनी प्रदेशको राजधानी दाङ भालुवाङमा रहेका प्रदेशका संरचनामा भने कुनै पनि क्षति भएन। अहिले प्रदेश राजधानी स्थलमा ठूला प्रशासनिक संरचना निर्माणाधीन अवस्थामा छन्। कतिपय निर्माण पूरा हुने अन्तिम तयारीमा छन्।

बजारभन्दा केही भित्र र जनसम्पर्कबाट टाढा रहेको प्रदेश राजधानीका कुनै पनि संरचनामा आगजनी तथा तोडफोड नभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

भदौ २६, २०८२ बिहीबार ११:५६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।