प्रचण्डले मुख खोले, भन्छन्- 'सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छ'

प्रचण्डले मुख खोले, भन्छन्- 'सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छ'
File Photo

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सङ्क्रमणकालीन अवस्थाबाट मुलुकलाई संविधानसम्मत बाटोमार्फत मात्र निकास दिन सकिने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आज वक्तव्य जारी गर्दै संविधान र संसद्को शून्यतालाई बहाना बनाइ खोजिने समाधानले प्रतिगमनलाई फाइदा पुर्याउने बताएका छन्। उनले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी रहने प्रणालीतर्फ अघि बढ्दा मात्र समावेशी लोकतन्त्रलाई सुदृढ गर्न सकिने धारणा राखे।

‘जेनजी आन्दोलन’ले यथास्थिति र तदर्थ शासनको विकल्पमा उन्नत लोकतन्त्रको माग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले आन्दोलनमा घुसेका प्रतिगामी तत्वहरूले तोडफोड र आगजनीमार्फत उपलब्धिहरू उल्ट्याउन खोजिरहेको आरोप लगाए। “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो,” दाहालको भनाइ छ।

उनले शान्ति, संविधान र गणतन्त्रको रक्षा गर्न सबै लोकतान्त्रिक शक्ति तथा आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। साथै, सम्भावित तोडफोड, आगजनी र लुटपाटबारे सचेत रहँदै जनताको सुरक्षाका लागि पार्टी संरचनालाई सक्रिय रहन निर्देशनसमेत दिएका छन्।

भदौ २६, २०८२ बिहीबार ११:५५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।