संसद विघटनको मागप्रति रास्वपा सांसद सोबिता गौतमको आपत्ति- ‘यो जनताको सर्वोच्चतामाथिको प्रहार हो’

संसद विघटनको मागप्रति रास्वपा सांसद सोबिता गौतमको आपत्ति- ‘यो जनताको सर्वोच्चतामाथिको प्रहार हो’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले ‘जेन-जी’ आन्दोलनले उठाएको संसद् विघटनको मागप्रति आपत्ति जनाएकी छन्।

उनले संसद् विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भन्दै यस्तो कदम स्वीकार्य नहुने स्पष्ट पारेकी हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेताहरू भ्रष्ट भए पनि संस्थाको रूपमा रहेको संसद्‌लाई विघटन गर्न नहुने तर्क गरेकी छन्।

उनले भनेकी छन्, ‘नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर, संसद् विघटन गरेर समस्या समाधान हुँदैन। संसद् विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो।’

सांसद गौतमले समस्याको समाधान संसद् विघटनबाट नभई संवादमार्फत खोजिनुपर्ने र संसद्को रक्षा गर्नुपर्नेमा जोड दिएकी छन्।

साथै, उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि माग गरेकी छन्।

भदौ २६, २०८२ बिहीबार ११:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।