‘संविधानको रक्षा गरौँ’ भन्दै एमाले र एकीकृत समाजवादीका नेता सडकमा

काठमाडौं : एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र एकीकृत समाजवादी निकट अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रैबाट खोज्न माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरूले ‘संविधानको रक्षा गरौँ’ भन्दै लोकतान्त्रिक मूल्य-मान्यता अनुरूप निकास खोज्नुपर्नेमा जोड दिएका हुन्।
मुलुकमा जारी आन्दोलन र राजनीतिक अस्थिरताका बीच उनीहरूले अहिलेको सम्पूर्ण समस्याको समाधान संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाटै हुनुपर्ने धारणा राखेका छन्।
उनीहरूका अनुसार, जुनसुकै राजनीतिक परिवर्तन वा निकास खोज्दा हालको संविधानको मूल मर्म र भावनालाई आत्मसात् गर्नुपर्छ।
जेन-जी आन्दोलनले मौजूदा राजनीतिक प्रणालीमाथि नै प्रश्न उठाइरहेको र अन्तरिम सरकार गठन जस्ता विषयमा छलफल चलिरहेको बेला फरक राजनीतिक धारमा रहेका पूर्वविद्यार्थी नेताहरूले संविधानको पक्षमा ऐक्यबद्धता जनाएका हुन्।
उनीहरूको यो प्रदर्शनलाई व्यवस्था परिवर्तनभन्दा पनि लोकतान्त्रिक विधिबाटै सुधार र समाधान खोज्नुपर्छ भन्ने पक्षमा उभिएको सन्देशका रूपमा हेरिएको छ।
भदौ २६, २०८२ बिहीबार ११:१७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।