अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको प्रस्ताव, सेनाको समन्वयमा आज राष्ट्रपति र जेन-जी प्रतिनिधिबीच वार्ता हुँदै

काठमाडौं : मुलुकमा जारी राजनीतिक संकटको निकास खोज्न अन्तरिम सरकार गठनको प्रयास तीव्र भएको छ।
यसै क्रममा नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र ‘जेन-जी’ आन्दोलनका युवा प्रतिनिधिहरूबीच बिहीबार निर्णायक छलफल हुने भएको छ।
आन्दोलनरत जेन-जी प्रतिनिधिहरूले अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटाइसकेका छन्। आज हुने छलफलले सो प्रस्तावलाई औपचारिकता दिने तयारी रहेको उच्च स्रोतले जनाएको छ।
कार्की निकट एक स्रोतका अनुसार, राष्ट्रपतिसँगको भेटअघि सेनासँग प्रारम्भिक चरणको वार्ता हुनेछ र त्यहाँबाट विकसित परिस्थितिका आधारमा राष्ट्रपतिसँगको वार्ता अघि बढ्नेछ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले जेन-जी प्रतिनिधिहरूसँग बिहीबार बिहानैदेखि छलफल गरी संकटको निकास खोज्ने तयारी गरेकाले आजको वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा सहमति जनाएका छन्। मेयर शाहको समर्थनपछि कार्की जेन-जी आन्दोलनको तर्फबाट सर्वसम्मत र एक्लो उम्मेदवारको रूपमा देखिएकी छन्, जसले उनको दावेदारीलाई थप बलियो बनाएको छ।
भदौ २६, २०८२ बिहीबार १०:२८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।