जेन-जी आन्दोलनमा माओवादीको ऐक्यबद्धता, हिंसात्मक घटनाको निन्दा; ओली र कांग्रेसलाई दोष

काठमाडौं : माओवादी केन्द्रले सुशासनको मागसहित युवाहरूले गरेको ‘जेन-जी’ आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ, तर आन्दोलनको क्रममा भएका तोडफोड र आगजनीजस्ता हिंसात्मक घटनाको भने निन्दा गरेको छ।
मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी विज्ञप्तिमा आन्दोलनको माग जायज भए पनि त्यसलाई अराजकतातिर धकेल्ने प्रयास भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
माओवादी केन्द्रले देशमा अहिलेको असहज परिस्थिति सिर्जना हुनुमा प्रमुख सत्ताधारी दल एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई मुख्य कारक ठहर्याएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सुशासनको डरले अत्तालिएका १८ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पछिल्लो दुःखद् रूपमा तपाईं हामीसामु देखिएको छ।
भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको उक्साहटमा गठबन्धन सरकार बनेको हो।’
माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसदमा दिएको अभिव्यक्तिले आन्दोलनलाई उत्तेजित बनाएको आरोप लगाएको छ।
‘केपी ओली नेतृत्वमा सरकार गठनपछि विग्रहको मत लिने क्रममा मैले संसदको रोष्ट्रमबाट सरकारको जुन उद्देश्यले बन्दैछ, सरकारको कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ’, अध्यक्ष प्रचण्डले विज्ञप्तिमा उल्लेख गरेका छन्।
माओवादीले आन्दोलनको दोस्रो दिन भएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ।
संसद भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकाय, राजनीतिक दलका कार्यालय, निजी आवास, होटल, बैंक लगायतका संरचनामा भएको तोडफोड, लुटपाट र आगजनीजस्ता घटना अकल्पनीय र दुःखद् भएको उसको ठहर छ।
विज्ञप्तिमा जेन-जी आन्दोलनले उठाएका सुशासन, समानुपातिक र पारदर्शी निर्वाचन प्रणाली जस्ता एजेन्डाहरू आफ्नो पार्टीको समेत भएको दाबी गरिएको छ।
पार्टीले यी एजेन्डाहरूलाई संविधान निर्माणका क्रममा स्थापित गर्न खोजे पनि सम्झौता गर्नुपरेको तर अहिले युवाहरूको आन्दोलनले ती मुद्दाहरूलाई फेरि बहसमा ल्याएको उल्लेख गरेको छ।
अन्तमा, माओवादी केन्द्रले जेन-जी पुस्ताले उठाएका मागहरूलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न आग्रह गरेको छ। साथै, आन्दोलनकारी युवाहरूलाई प्रतिगामी शक्तिबाट सजग रहन र शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वानसमेत गरेको छ।
भदौ २६, २०८२ बिहीबार १०:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।