अमेरिका, बेलायत, भारतसहित दर्जनौं देशद्वारा आफ्ना नागरिकलाई तत्काल नेपाल यात्रा नगर्न निर्देशन

काठमाडौं : नेपालमा ‘जेन जी’ पुस्ताले सुरू गरेको आन्दोलनमा प्रहरी दमनपछि हिंसात्मक बनेपछि संयुक्त राज्य अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया, क्यानडा र आयरल्यान्डसहित दर्जनौं देशले आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेका छन्।
ती देशहरूले नेपालको भ्रमण तत्कालका लागि स्थगित गर्न र नेपालमा रहेका आफ्ना नागरिकलाई ‘शेल्टर इन प्लेस’ अर्थात् हाल बसिरहेकै स्थानमा सुरक्षित रहन निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध सुरू भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ३० भन्दा प्रदर्शनकारी र तीन प्रहरीको ज्यान गएको छ। सयौं मानिस अझै अस्पतालको शय्यामा छन्।
यही असहज परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका दूतावासहरूले आफ्ना नागरिकको सुरक्षाका लागि यस्तो कदम चालेका हुन्।
भारत: छिमेकी मुलुक भारतले नेपालको स्थिति स्थिर नभएसम्म यात्रा नगर्न आफ्ना नागरिकलाई सल्लाह दिएको छ। नेपालमा रहेका भारतीयहरूलाई हाल बसिरहेकै ठाउँमा सुरक्षित बस्न, सडकमा ननिस्कन र पूर्ण सावधानी अपनाउन आग्रह गरिएको छ। काठमाडौंस्थित भारतीय दूतावासले आपत्कालीन सहयोगका लागि हेल्पलाइन नम्बरहरू समेत जारी गरेको छ।
संयुक्त राज्य अमेरिका: काठमाडौंस्थित अमेरिकी दूतावासले बढ्दो राजनीतिक अशान्ति र हिंसात्मक प्रदर्शनका कारण अर्को सूचना नभएसम्म सबै अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा रहन (शेल्टर इन प्लेस) कडा निर्देशन दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अनिश्चितकालका लागि स्थगित भएको रिपोर्ट आएको भन्दै दूतावासले आपत्कालीन अवस्थामा मात्र यात्रा गर्न सल्लाह दिएको छ।
बेलायत: बेलायतले सेप्टेम्बर ८ देखि काठमाडौं र देशका अन्य भागमा भएका हिंसात्मक प्रदर्शन र हताहतीको घटनालाई उल्लेख गर्दै आफ्ना नागरिकलाई प्रदर्शनबाट टाढा रहन, स्थानीय सञ्चारमाध्यमबाट जानकारी लिन र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ। काठमाडौं विमानस्थल सेप्टेम्बर १० मा पुनः खुले पनि उडानहरूमा ढिलाइ र अवरोध जारी रहन सक्ने चेतावनी दिएको छ।
अष्ट्रेलिया र क्यानडा: अष्ट्रेलिया र क्यानडाले पनि नेपालमा गैर-आवश्यक यात्रा नगर्न सल्लाह दिएका छन्। नागरिक अशान्ति र कमजोर सुरक्षा अवस्थाका कारण स्थिति बिना चेतावनी बिग्रन सक्ने भन्दै उनीहरूले काठमाडौं उपत्यका र अन्य प्रमुख शहरहरूमा लगाइएको कर्फ्यूको पालना गर्न भनेका छन्।
विभिन्न देशका परामर्शहरूमा नेपालको अवस्था हाल निकै अस्थिर रहेको उल्लेख गरेको छ। काठमाडौं, पोखरा लगायतका प्रमुख शहरहरूमा कर्फ्यू लगाइएको छ र जुनसुकै बेला थप प्रतिबन्धहरू घोषणा हुन सक्ने अवस्था रहेको उल्लेख गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आए पनि उडानहरू पूर्ण रूपमा सामान्य हुन समय लाग्ने देखिएको भन्दै एयरलाइन्ससँग उडान निश्चित गरेर मात्र विमानस्थल जान उनीहरूले सल्लाह दिएका छन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइए पनि इन्टरनेट र मोबाइल डाटा सेवामा अवरोध आउन सक्ने चेतावनी दिइएको छ।
पर्यटकहरूमाथि हुने स-साना चोरी, लुटपाट जस्ता घटना बढ्न सक्ने भन्दै काठमाडौंको ठमेल, सानेपा जस्ता पर्यटकीय क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ। एक्लै पदयात्रा गर्ने र महिला पर्यटकहरू थप जोखिममा रहेको पनि एडभाइजरीम औंल्याइएको छ।
पर्यटन क्षेत्र नेपालको मुख्य आम्दानीको हिस्सा हो। सेप्टेम्बरदेखि नेपालमा पर्यटकीय सिजन सुरू हुन्छ। तर अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न देशले नेपालमा यात्रा नगर्न आग्रह गरेका छन्। यस्तो अवस्थामा नेपालमा पर्यटकीय व्यवसायहरू झन् संकटमा पर्ने देखिन्छ।
भदौ २६, २०८२ बिहीबार ०९:५५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।