त्रिविको पठनपाठन छठपछि मात्रै, कार्तिक ११ देखि कक्षा सञ्चालन हुने

त्रिविको पठनपाठन छठपछि मात्रै, कार्तिक ११ देखि कक्षा सञ्चालन हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमित पठनपाठन छठ पर्वपछि मात्रै सुरु हुने भएको छ।

मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण विश्वविद्यालयले कार्तिक ११ गतेदेखि मात्रै नियमित कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको हो।

त्रिवि, सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै हालको बिदालाई हिउँदे बिदाबाट पूर्ति गरिने जनाएको छ। सूचना अनुसार, २०८१ साल भदौ २९, ३० र ३१ गते तथा असोज १, २, ५ र कार्तिक ९ गते पठनपाठन बन्द रहनेछ।

महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी तोकिएका मितिहरूमा त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

हालै देशव्यापी रूपमा भएको युवा आन्दोलन र त्यसपछिको परिस्थितिका कारण शैक्षिक संस्थाहरूको पठनपाठन प्रभावित हुँदै आएको छ। यही असहज अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यस्तो निर्णय लिएको हो।

भदौ २६, २०८२ बिहीबार ०९:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।