बिहान छ बजेबाट कर्फ्यू खुला, तर १० बजेबाट पुन: निषेधाज्ञा

काठमाडौं : नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि कर्फ्यू हटाएको छ।
यद्यपि, नागरिकलाई अत्यावश्यक कार्यका लागि सहज होस् भनेर केही घण्टाका लागि आवागमन खुला गरिए पनि बिहान १० बजेदेखि पुनः निषेधाज्ञा जारी गरिने भएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचना अनुसार, पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि निषेधाज्ञा र कर्फ्यूको आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै लगिएको हो।
आजका लागि बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत खुला गरिएको छ। भने बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
बेलुकी ५ बजे देखि ७ बजेसम्म आवतजावतका लागि पुनः खुला गरिनेछ भने बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म: पुनः कर्फ्यू जारी हुनेछ।
निषेधाज्ञा तथा कर्फ्यूको समयमा पनि अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्। सेनाका अनुसार एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारी साधनहरू निर्वाध सञ्चालन गर्न सकिनेछ।
त्यस्तै, विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचय पत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो हवाई टिकट देखाएर विमानस्थलसम्म जान पाउनेछन्।
सेनाले आवश्यक परेमा नजिकै रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न र सुरक्षा तथा मानवीय उद्धारमा खटिएका सुरक्षाकर्मीलाई सहयोग गर्न आम नागरिकमा हार्दिक अपिल गरेको छ।
भदौ २६, २०८२ बिहीबार ०८:०५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।