अविलम्ब संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिलाई बालेनको आग्रह, सुशीलालाई समर्थन गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न राष्ट्रपति रामचन्द्र पौडेलाई आग्रह गरेका छन्। उनले जेनजीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन गरेको प्रस्तावमा आफ्नो पूर्ण समर्थन गरेको जनाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले देश अहिले अभूतपूर्व परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै जेनजी युवाले सुरुवात गरेको आन्दोलनलाई सुनौलो भविष्यको कदमका रूपमा चित्रण गरेका छन्।
शाहले लेखेका छन्, “देश अन्तरिम सरकारमा जाँदैछ, जसले नयाँ चुनाव गराउनेछ। अन्तरिम सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति मेरो पूर्ण समर्थन छ।” उनले युवाहरूको सुझबुझ, विवेक र एकतालाई सम्मान गर्दै परिपक्वताको उदाहरण प्रस्तुत गरेको बताएका छन्।
उनले तत्काल नेतृत्व सम्हाल्न हतार गर्नेहरूलाई चुनावमै आफूलाई प्रमाणित गर्न आग्रह गर्दै भनेका छन्, “तपाईंहरूको जोश र इमानदारी देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव हुन्छ, कृपया हतार नगर्नुहोस्।”
राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले भनेका छन्, “जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नुहोस्।”
भदौ २५, २०८२ बुधबार २२:२५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।