नख्खुबाट भागेर रातारात जनकपुर पुगेका टकला भन्छन्- निक्लिन इन्कार गर्दा पनि जेनजीले हात समाएर निकाले

काठमाडौं : मंगलबार यता जेनजी आन्दोलनले उग्र रुप लिँदै थियो। उता रास्वपाका नेताहरू रविलाई निकाल्ने दाउ पर्खेर बसेका थिए। जब भीड हल्लाको भरमा जता लग्यो त्यतै हिड्ने भयो। रास्वपाका नेता कार्यकर्ता सक्रिय भए। अनि सामाजिक सञ्जालमा रविलाई निकाल्न जेनजीहरू नख्खु गएको हल्ला चलाइयो।
तर त्यहाँ जेनजी होइन् रास्वपाका कार्यकर्ता थिए। नख्खु कारागार प्रशासनले केही समयमै रविलाई परिवारको जिम्मा लगायो। त्यसपछि नख्खुका सैयौं कैदीहरू झोला बोकेर बाहिर निक्लिन थाले। त्यही भीडमा थिए- पूर्व सांसद संजय साह उर्फ संजय टकला।
उनले जनकपुर बम काण्डमा दोषी ठहर भई बाह्र वर्ष देखि नख्खु कारागारमा सजाय भोगिरहेका थिए। काठमाडौंमा आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यु आदेश जारी भएको थियो। तर टकला भने रातारात जनकपुर पुगिसकेका थिए।
उनै टकलाले जनकपुर पुगेर आफूलाई जेनजीले हात समाएर बाहिर निकालेको दाबी गरेका छन्। दुई/चार महिना पछि कारागार बस्नु पर्ने समय सक्किन लागेको कारण आफू बाहिरिन नचाहेँ पनि भिडले बाहिर निकालेको उनको दाबी छ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकाल्न नख्खुमा रास्वपाका कार्यकर्ताको भीड लागेको थियो। रवि कारगारबाट निक्लिए। त्यसपछि त्यहाँका सैयौं कैदीहरू झोला बोकेर भागेका थिए। त्यही क्रममा टकला पनि निक्लिएका थिए।
सामाजिक संजालमा ‘नो रबि’ ट्रेण्ड हुन थाले पछि रविले आफू ‘रिहा’ भएको पत्र सार्वजनिक गर्दै कानुन अनुसार नै बाहिर आएको प्रष्टीकरण दिइरहेका छन्। तर उनीसँगै निस्किएका टकलाले भने जेनजीले आफूलाई निकालेको बताए।
‘२/४ महिनाको समय पनि भोगेर आउछु भनेर बसेको थिएँ। कानुन बमोजिम नै निस्किनेवाला थिएँ। मैले त इन्कार गरेको पनि हुँ,’ उनले जनकपुरको एक स्थानीय संचारमाध्यममा अन्तर्वार्ता दिँदै भने, ‘तर त्यहाँ माहोल अर्कै थियो। नयाँ जेनेरेसनको बच्चाहरू यति उत्तेजित थिए। यो कुरा सम्झाउन पनि गाह्रो भयो। उनीहरुले हात समातेर एकै पटक निकाले। बाहिर सब कागजातहरू फालिरहेको थियो।’
कारागार प्रशासनको व्यक्तिहरू पनि त्यसबेला ‘सिभिल ड्रेस’ भएको र ‘गइहाल्नुस, गइहाल्नुस’ भने पछि आफू बाहिर निस्किएको उनले बताएका छन्। गृह मन्त्रालय र कारागार विभागले बाहिर गएका कैदीहरू फिर्ता बोलाएमा सबै भन्दा अगाडि आफूनै कारागार पुग्ने उनले अन्तर्वार्तामा भनेका छन्।
काठमाडौंमा जेनजी आन्दोलन चर्किरहँदा कर्फ्युका बीच मंगलबार राति नै उनी काठमाडौंबाट जनकपुर पुगे। जनकपुरमा अहिले उनी आफ्ना कार्यकर्ताहरू भेटिरहेका छन्। १२ वर्ष देखि झुटो मुद्दामा फसाएको र कारागारमा बस्दा शारीरिक र मानसिक रुपमा कष्ट भएको समेत उनले त्यस अन्तर्वार्तामा बताएका छन्।
‘सार्वजनिक जीवन जिउने व्यक्तिको लागि यो सामान्य नै हुन्छ। मलाई समाज र देशको चिन्ता थियो। जेनजी पुस्तालाई सलाम गर्छु। धन्यवाद दिन्छु,’ उनले भने।
उनले आगामी राजनीतिको बारेमा केही समयको छलफल पछि मात्र तय गर्ने बताए। उनी जनकपुबाट दुई पटक निर्वाचित सांसद हुन्। उनले ठूला पार्टीहरूले झुटो मुद्दा चलाएको आरोप लगाउँदै झुटो मुद्दामा फैसला सुनाउने न्यायाधीशलाई समेत कारबाही गर्न जेनजीलाई अपिल समेत गरे।
भदौ २५, २०८२ बुधबार २१:३५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।