कारागारबाट जबरजस्ती निकालिएको रविको दाबी, भने- ‘नेतृत्वको दौडमा छैन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई नख्खु कारागारबाट जबरजस्ती निकालिएको दाबी गरेका छन्।
बुधबार फेसबुकमा एक भिडियोमार्फत स्पष्टीकरण दिँदै उनले सुरक्षा दिन नसक्ने भन्दै प्रशासनले आफूलाई बाहिर पठाएको र आफू सरकार बनाउने कुनै पनि दौडमा नरहेको स्पष्ट पारेका छन्।
लामिछानेले आफूले चाहेर नभई प्रशासनको आग्रहमा बाहिर निस्कनुपरेको बताए।
‘म आफूले चाहेर निस्किएको होइन। सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ती बाहिर निकालिएको हो,’ उनले भने, ‘मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु।’
उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग कुरा गरेर आफूलाई पुनः हिरासतमा राख्न आग्रह गरेको समेत खुलासा गरे।
‘तपाईंहरूले मलाई आफ्नो कस्टडीमा राख्नुस् या कारागारमा पठाउनुस् भनेँ,’ उनले भने, ‘उनीहरूले आफैँ सुरक्षित बस्नुस्, परेको बेला सम्पर्क गर्छौं भन्नुभयो।’
आफ्नो विवादास्पद रिहाइपछि विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भमा उनले आफू कुनै पनि हालतमा सरकार बनाउने वा नेतृत्वको दौडमा नरहेको पटक-पटक दोहोर्याए।
‘मेरो नाममा विवाद गर्नु जरुरी छैन। म यो रेसमा नै छैन,’ उनले भने, ‘रेसबाट हटाउन मलाई डिफेम (बदनाम) गर्न पर्दैन, म यो रेसमा छँदै छैन।’
आफूमाथि झुटो मुद्दा लगाइएको र अझै पनि कानुनी लडाइँ लडिरहेको बताउँदै उनले आफ्नो सुरक्षामाथि गम्भीर प्रश्न उठाए।
‘प्रहरीले आफैं सुरक्षित बस भन्छ। बाटोमा आगो लिएर बसेको भिड छ। अब भन्नुस् मैले बाँच्न पाउने कि नपाउने?’ उनले प्रश्न गरे, ‘कांग्रेस एमालेदेखि जेनजीसम्म आउँदा ममाथिको अन्याय नरोकिने नै हो त?’
उनले आफूले न्यायिक निकायहरूलाई समेत यसबारे औपचारिक जानकारी गराइसकेको बताएका छन्।
भदौ २५, २०८२ बुधबार १९:३२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।