सेनापतिसँगको वार्तापछि दुर्गा प्रसाईंको घोषणा- ‘मलाई नेतृत्वको मोह छैन, बालेन वा सुशीलालाई स्वीकार्न तयार छु’

काठमाडौं : विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको कुनै मोह नभएको घोषणा गरेका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलसँग लामो छलफलपछि उनले जेन-जी पुस्ताको भावनालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकार्न तयार रहेको बताएका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रसाईंले देशलाई निकास दिनु आफ्नो एकमात्र प्राथमिकता भएको स्पष्ट पारेका छन्।
‘आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो,’ उनले लेखेका छन्, ‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ- मलाई नेतृत्वको मोह छैन।’
यद्यपि, उनले देशलाई संकटमा छाडेर नभाग्ने संकेत पनि गरेका छन्।
‘कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु’, प्रसाईंले भनेका छन्।
उनले हालको विषम परिस्थितिमा सस्तो राजनीति र टिकाटिप्पणीमा नलाग्ने बताउँदै गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोजी गर्नुपर्नेमा जोड दिएका छन्।
‘यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो,’ उनले भने, ‘अब समय आएको छ- भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।’
प्रसाईंको यो भनाइलाई देशमा जारी राजनीतिक र संवैधानिक संकटको समाधान खोज्न भइरहेका अनौपचारिक संवादहरूको एक महत्वपूर्ण कडीको रूपमा हेरिएको छ।
आन्दोलनका क्रममा विभिन्न पक्षले आफूलाई प्रस्तुत गरिरहेको बेला, प्रसाईंको यो प्रस्तावले जेन-जी आन्दोलनले खोजेको नयाँ नेतृत्वको बहसलाई थप तरंगित बनाएको छ।
भदौ २५, २०८२ बुधबार १९:१५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।