एकै दिनको क्षति १० वर्षे द्वन्द्वभन्दा बढी, लोकतान्त्रिक बाटोबाटै समाधान खोज्न महतको आग्रह

एकै दिनको क्षति १० वर्षे द्वन्द्वभन्दा बढी, लोकतान्त्रिक बाटोबाटै समाधान खोज्न महतको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ‘जेन-जी’ आन्दोलनका क्रममा मंगलबार भएको हिंसात्मक घटनाले देशलाई १० वर्षे माओवादी द्वन्द्वले भन्दा बढी क्षति पुर्याएको बताएका छन्।

उनले शान्तिपूर्ण आन्दोलनको मर्मविपरीत भएको आगजनी र तोडफोडको निन्दा गर्दै वर्तमान राजनीतिक शून्यताको अन्त्यका लागि राष्ट्रपतिको अगुवाइमा संवैधानिक बाटोबाटै निकास खोज्नुपर्नेमा जोड दिएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता महतले प्रदर्शनका क्रममा युवाहरू र सुरक्षाकर्मीले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा धेरै बढी हो।’

उनले यो हिंसात्मक गतिविधिमा देश र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूको कुनै संलग्नता नरहेको विश्वास व्यक्त गर्दै आन्दोलनमा घुसपैठ भएको दाबी गरे। आफ्नो निजी निवास, सञ्चारगृह, उद्योग-व्यवसाय र पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरूमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेका छन्।

डा. महतले देश राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा फसेको उल्लेख गर्दै यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरूलाई एकजुट भई जनतामा आत्मविश्वास र भरोसा जगाउन अपिल गरेका छन्।

‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन,’ उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्नेमा कुनै दुबिधा छैन।’

उनले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवादमा कांग्रेसले सक्रिय पहल गर्ने र अन्य लोकतन्त्रवादी दलहरूसँग तत्काल संवाद गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

भदौ २५, २०८२ बुधबार १९:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।