सेनाको कारबाहीमा ७३ नाल हतियार बरामद, भागेका ३०३ कैदी पुनः पक्राउ

सेनाको कारबाहीमा ७३ नाल हतियार बरामद, भागेका ३०३ कैदी पुनः पक्राउ

काठमाडौं : नेपाली सेनाले देशव्यापी सुरक्षा कारबाहीलाई निरन्तरता दिँदै लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा हतियार बरामद गरेको छ।

पछिल्लो अपडेटअनुसार हालसम्म ७३ नाल हतियार बरामद भएको छ भने विभिन्न जिल्लाका कारागारबाट भागेका ३०३ जना कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ।

सेनाका अनुसार, काठमाडौंको महाराजगञ्ज इलाकाबाट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७ नाल हतियार र त्यसका म्यागजिन, गोली, व्युनेट लगायतका सामग्री बरामद भएको छ।

यसैगरी, विशेष सूचनाको आधारमा बालाजुको माछापोखरी क्षेत्रबाट थप १ नाल हतियार बरामद गरिएको छ।

यसैबीच, काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबीच भएको झडपलाई नियन्त्रणमा लिइएको छ।

काठमाडौंको डिल्लीबजार कारागारमा लागेको आगो पनि नेपाली सेना र अन्य सुरक्षा निकायको प्रयासमा निभाइएको छ।

सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ।

हालसम्म सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जना गरी कुल ३०३ जनालाई पुनः पक्राउ गरिएको सेनाले जनाएको छ।

सुरक्षा निकायले फरार रहेका अन्य कैदीबन्दीको खोजी र शान्ति सुरक्षा कायम गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।

भदौ २५, २०८२ बुधबार १८:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।