जेन-जीले नेतृत्व छान्न ढिला गरेपछि एमाले नेता सञ्जालमा सक्रिय, कमेन्ट बन्द गरेर कार्यकर्तालाई सम्बोधन

काठमाडौं : ‘जेन-जी’ आन्दोलनको नेतृत्व र मागहरू स्पष्ट नभइरहेको अवस्थामा सत्ताधारी दल एमालेले आफ्ना कार्यकर्ता पंक्तिलाई एकताबद्ध राख्न सामाजिक सञ्जालमार्फत सक्रियता बढाएको छ।
एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी पंक्तिलाई अविचलित रहन र शान्ति सुरक्षा कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन्। यो विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक गर्दा सार्वजनिक टिप्पणीबाट बच्न ‘कमेन्ट’ बन्द गरिएको पाइएको छ।
विज्ञप्तिमा एमालेले जेन-जी आन्दोलनका क्रममा भएको १९ युवाको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। तर, मंगलबार देशैभर भएका आगजनी, तोडफोड र लुटपाटका घटनाहरू आन्दोलनकारीको उद्देश्यविपरीत भएको एमालेको ठहर छ।
‘प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरूको पूर्व घोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उनीहरूको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ’, विज्ञप्तिमा भनिएको छ।
संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायतका संरचना ध्वस्त पारिएको, हजारौं कैदीहरू जेलबाट बाहिरिएको र खर्बौंको सम्पत्ति नोक्सान भएको घटनाले मुलुकलाई दशकौं पछाडि धकेलेको एमालेको विश्लेषण छ।
संवैधानिक बाटोबाटै निकास खोज्न राष्ट्रपतिलाई आग्रह
प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक संकटको समाधान संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा एमालेले जोड दिएको छ। यसका लागि सार्थक संवादको पहल गर्न र युवा पुस्ताका मागलाई संविधानभित्रैबाट सम्बोधन गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको छ।
‘लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ’, विज्ञप्तिमा उल्लेख छ।
यो विषम परिस्थितिमा एमालेले आफ्नो पार्टी पंक्तिलाई संयमित, एकताबद्ध र आशावादी भएर अगाडि बढ्न आग्रह गरेको छ।
‘यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ’, भन्दै कार्यकर्ताको मनोबल उच्च राख्ने प्रयास गरिएको छ। विज्ञप्तिमा सबै नेता-कार्यकर्तालाई नियमित सम्पर्कमा रहन, प्रशासनसँग समन्वय गरी सार्वजनिक सम्पत्तिको रक्षा गर्न र जनतालाई राहत प्रदान गर्न निर्देशन दिइएको छ।
आफ्नो भूमिकाको समीक्षा उपयुक्त समयमा गर्ने तर अहिलेको मुख्य काम सम्हालिनु र एकताबद्ध हुनु रहेको भन्दै एमालेले राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि रचनात्मक भूमिका खेल्न आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ।
भदौ २५, २०८२ बुधबार १८:४०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।