नेपालको उथलपुथलबारे भारतीय प्रधानन्यायाधीश भन्छन्- ‘हामीलाई हाम्रो संविधानमाथि गर्व छ’

नेपालको उथलपुथलबारे भारतीय प्रधानन्यायाधीश भन्छन्- ‘हामीलाई हाम्रो संविधानमाथि गर्व छ’

काठमाडौं : भारतका प्रधानन्यायाधीश बीआर गवईले नेपालमा जारी उथलपुथलप्रति चिन्ता व्यक्त गरेका छन्।

भारतको सर्वोच्च अदालतमा एक संवैधानिक इजलासको सुनुवाइका क्रममा उनले छिमेकी देशको अवस्थालाई इंगित गर्दै आफूहरूलाई आफ्नो संविधानमा गर्व भएको बताए।

पाँच न्यायाधीशको संवैधानिक इजलासले राष्ट्रपति र राज्यपालहरूको अधिकार क्षेत्रसँग सम्बन्धित मुद्दामा सुनुवाइ गरिरहेको थियो।

सोही क्रममा प्रधानन्यायाधीश गवईले भने, ‘हामीलाई आफ्नो संविधानमा गर्व छ, हेर्नुहोस् हाम्रा छिमेकी देशहरूमा के भइरहेको छ। हामीले नेपालको अवस्था पनि देखेका छौँ।¦

यसै क्रममा अर्का न्यायाधीश विक्रमनाथले बंगलादेशमा पनि यस्तै अवस्था देखिएको बताए।

प्रधानन्यायाधीश गवई केही समयअघि मात्रै नेपाल भ्रमणमा आएका थिए। त्यस क्रममा उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटवार्ता गरेका थिए।

‘जेन-जी’ नामले चिनिएका युवा प्रदर्शनकारीहरूले राजनीतिक र सामाजिक सुधारको माग राख्दै आन्दोलन गरिरहेका छन्।

उनीहरूले बृहत् प्रशासनिक सुधार र पछिल्ला तीन दशकमा भ्रष्ट राजनीतिज्ञहरूले आर्जन गरेको सम्पत्तिको छानबिन गर्न माग गरिरहेका छन्।

भदौ २५, २०८२ बुधबार १७:४०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।