‘जेनजी आन्दोलन’को रापले डढेको संसद् भवन (तस्विरहरू)

‘जेनजी आन्दोलन’को रापले डढेको संसद् भवन (तस्विरहरू)

काठमाडौं : चीनले नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) नाम राखेर बनाएको भवन संसद् भवनको रूपमा प्रयोग हुँदै आएको थियो। तर त्यही सम्मेलन केन्द्र मंगलबारको जेनजी आन्दोलनका प्रदर्शनकारीहरूको निशानामा पर्यो। 

सेना र सशस्त्रको सुरक्षा घेरा असफल भएपछि मंगलबार भवन परिसरमा छिरेका प्रदर्शनकारीहरूले पहिला तोडफोड गरे। भवनमा रहेको सामान लुटे। अनि आगो लगाइदिए।

चीनको करिब २ अर्बको सहयोगमा बनेको यो भवनको नाम वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर राखिएको थियो। प्रारम्भमा यसको प्रयोग अन्तराष्ट्रियस्तरको सभा/सम्मेलनमा प्रयोग हुने गरेको थियो।

२०६२/०६३ को आन्दोलन सफल भएसँगै सिंहदरबारभित्र रहेको संसद् भवन साँघुरो भएपछि संविधान सभा बैठक चलाउन त्यही भवन भाडामा लिएको थियो।  दोस्रो संविधान सभासम्म त्यही बिआइसिसीको भवन प्रयोग भयो। २०७२ को भूकम्पमा सिंहदरबारभित्रको संसद् भवन चर्किएर प्रयोग गर्न नसक्ने भएपछि नयाँ भवन नबनेसम्मका लागि त्यही भवन प्रयोग गरिरहेको थियो सरकारले। सार्वजनिक सम्पत्ति रहेको त्यही भवन आखिरमा प्रदर्शनकारीको तारोमा पर्यो।

कसरी तारोमा पर्यो भवन ?

राजतन्त्र फर्काउन चाहने समूहले त्यही बिआइसिसी कब्जा गरेर राजतन्त्रको घोषणा गर्ने चुनौती दिँदै आएका थिए। त्यसलाई गणतन्त्रवादी शक्तिहरूले जनताको सार्वभौमसत्ता रहेको संसद्को रूपमा लिने गरेका थिए। तर राजावादीहरूले संसद् कब्जाको प्रयास जारी नै राखे। राप्रपाले होस् या दुर्गा प्रसाईँ समूहले होस् आन्दोलन घोषणा गर्दा संसद् कब्जा गरेर राजा फर्काउने चेतावनी दिने गरेका थिए।

चैत १५ मा त्यही संसद् भवन कब्जा गर्ने रणनीति अनुसार तीनकुनेमा आयोजना गरिएको विरोध प्रदर्शन हिंसात्मक हुँदा एक प्रदर्शनकारी र एक पत्रकार मारिएका थिए। सोमबार जेनजीको रूपमा चिनिने नयाँ पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनको माग नयाँ व्यवस्थाको थिएन। उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेका थिए। उनीहरूको आन्दोलनको कार्यक्रममा संसद् भवन कब्जा गर्ने पनि थिएन। 

तर अन्तमा प्रदर्शनमा सहभागीहरूले संसद् भवन प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए। त्यसमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भयो। त्यसैको विरोधमा मंगलबार बिहानबाट विरोध प्रदर्शन सुरु भएको थियो। दमनको विरोधमा सुरु भएको प्रदर्शन दिउँसोसम्म शान्तिपूर्ण नै थियो। एकाएक प्रदर्शन हिंसात्मक बन्दै नेताहरूको घर केन्द्रित भयो।

सुरक्षा संगठन पूर्ण रूपमा असफल भएपछि प्रदर्शनकारीहरू जनताको सार्वभौम अधिकारको प्रतीकको रूपमा मानिने त्यही संसद् भवनमा गएर आगो लगाइदिए। देशको मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरबारमा आगो लगाउने प्रयास गरे। सार्वजनिक सम्पत्ति तोडफोड हुँदै प्रदर्शन अब लुटपाटतिर मोडिएको छ।

भदौ २५, २०८२ बुधबार १७:०६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।