देउवाको बखान गर्दै खोटाङ कांग्रेसको विज्ञप्ति, रविलाई जेलबाट भगाइएकोमा आपत्ति

खोटाङ : नेपाली कांग्रेस खोटाङले एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक योगदानको प्रशंसा गरेको छ।
‘जेन-जी’ आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधि र गृहमन्त्री रवि लामिछानेसहित हजारौं कैदीलाई जेलबाट भगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
जिल्ला प्रवक्ता रोशन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा देश गम्भीर संकट र त्रासको अवस्थामा रहेको उल्लेख गर्दै जेन-जी आन्दोलनका सुरुवाती मागहरू जनताका जायज माग भए पनि पछि यो अनियन्त्रित र अराजक बनेको बताइएको छ।
विज्ञप्तिमा सभापति देउवाको निवासमा भएको आक्रमणलाई लोकतन्त्रमाथिकै हमलाको रूपमा चित्रण गरिएको छ।
देउवाको राजनीतिक योगदानको लामो सूची प्रस्तुत गर्दै खोटाङ कांग्रेसले लेखेको छ, ‘तपाईंले लोकतन्त्रका लागि लड्नुभयो, शान्तिका लागि लड्नुभयो, समावेशी संविधानका लागि संघर्ष गर्नुभयो, भ्रष्टाचार निवारणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्नुभयो।’
विज्ञप्तिमा देउवाको जीवनभरको योगदानलाई बिर्सेर उनको घरमा आगजनी र आक्रमण हुँदा पार्टीका सात लाख सदस्य र भगिनी संस्थाहरू किन मौन बसेको भन्दै आक्रोशपूर्ण प्रश्न गरिएको छ।
खोटाङ कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई जेलबाट मुक्त गरिएको घटनालाई ‘भगाइएको’ भन्दै त्यसले भयावह अवस्था सिर्जना गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भयावह त के भयो भने रवि लामिछानेसहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरु जेल जीवनबाट मुक्त गरिए/भगाइयो।’
यसका साथै, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, भाटभटेनी, बैंक र पशुपतिनाथ मन्दिरमा समेत भएको आगजनी र लुटपाटको घटनाको घोर भर्त्सना गरिएको छ।
विज्ञप्तिमा जेन-जी आन्दोलनको नाममा केही ‘भिजिलान्तेहरूले’ कांग्रेस पार्टी कार्यालयमा तोडफोड र आगजनी गरी लोकतन्त्रमाथि नै हमला गरेको दाबी गरिएको छ।
पार्टीले जहिले पनि जनताको अधिकारको पक्षमा लडेको स्मरण गराउँदै विज्ञप्तिमा न्याय र लोकतान्त्रिक पद्धतिको रक्षा गर्न सबैलाई अपिल गरिएको छ।
भदौ २५, २०८२ बुधबार १६:५६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।