दुर्गा प्रसाईं र रास्वपालाई छलफलमा भित्र्याउन खोजेपछि जेन-जी प्रतिनिधि असन्तुष्ट, वार्ताबाटै बाहिरिए

काठमाडौं : ‘जेन-जी’ आन्दोलनका प्रतिनिधि र राज्य पक्षबीचको वार्ता प्रयासमा गम्भीर मतभेद देखिएको छ।
नेपाली सेनाको मुख्यालयमा भएको छलफलमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत ‘सरोकारवाला’को रूपमा सामेल गराउन खोजिएपछि जेन-जीका केही प्रतिनिधिहरूले बैठक नै बहिष्कार गरेका छन्।
जेन-जी प्रतिनिधि रक्षा बमका अनुसार, स्वयं प्रधानसेनापतिले राष्ट्रपतिसँगको भेटअघि दुर्गा प्रसाईं र रास्वपाका प्रतिनिधिसँग पनि वार्ता गर्न सुझाएपछि आफूहरू छलफलबाट बाहिरिएको बताएकी छन्।
‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनिसकेपछि, जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्यौं,’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन-जी समूहसँग छलफलको निम्ति तयारी गरिरहेका छौँ।’
‘हामी वार्तामा थिएनौं, छलफलमा गएका थियौं’
बमले आफूहरू कुनै माग लिएर वार्ता गर्न नगएको स्पष्ट पारेकी छन्। उनका अनुसार, जेन-जीका विभिन्न समूहहरूबीच साझा धारणा बनाउन र ७७ जिल्लाका प्रदर्शनकारीहरूको मागलाई एकीकृत गरी एउटै संयुक्त दस्तावेज तयार पार्न समय लाग्ने जानकारी गराउन उनीहरू सेनाको मुख्यालय पुगेका थिए।
‘हामी न हिजो वार्तामा थियौँ, न आज छौँ,’ उनले लेखेकी छन्, ‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ र केही दिनभित्र राष्ट्रपति सहित आर्मी चिफ समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ।’
बुधबारको छलफल आन्दोलनको आधारभूत मान्यताविपरीत अघि बढेको उनको आरोप छ। जेन-जी आन्दोलनलाई कुनै राजनीतिक दल वा व्यक्तिसँग जोडेर यसको मौलिकता र उद्देश्यलाई कमजोर पार्न खोजिएको भन्दै उनले बैठक बहिष्कार गरेको बताएकी हुन्।
उनले जेन-जी आन्दोलनको कुनै एक नेता नभएको र विभिन्न समूहले यसलाई नेतृत्व गरिरहेको यथार्थलाई स्वीकार्नुपर्ने बताएकी छन्। बैठकमा रहेका अन्य जेन-जी प्रतिनिधिहरूको धारणाबारे भने आफू अनभिज्ञ रहेको उनको भनाइ छ।
भदौ २५, २०८२ बुधबार १६:२८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।