जेनजी आन्दोलनले कर्णालीका प्रदेश सभादेखि मुख्यमन्त्री निवाससम्म आगजनी र तोडफोड

एजेन्सी : मंगलबार भएको ‘जेन-जी’ आन्दोलनले कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिंसात्मक रूप लिँदा सरकारी तथा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको छ।
प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शनकारीले प्रदेश सभा भवन, मुख्यमन्त्रीको कार्यालय र निवासदेखि प्रमुख राजनीतिक दलका कार्यालय र नेताहरूका घरमा समेत तोडफोड र आगजनी गरेका छन्।
आन्दोलनको सबैभन्दा बढी प्रभाव राजधानी सुर्खेतमा देखिएको छ।
प्रदर्शनकारीले कर्णाली प्रदेश सभा, वीरेन्द्रनगर नगरपालिका कार्यालय, सिटी हल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय लगायत दर्जनौं सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
यसैगरी, नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा र जनमोर्चाका पार्टी कार्यालयहरू पनि जलाइएका छन्। प्रदर्शनकारीको निशानामा राजनीतिक नेतृत्व समेत परेको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगरका मेयर मोहनमाया ढकाल र उपमेयर नीलकण्ठ खनालका निजी निवासमा पनि तोडफोड र आगजनी भएको छ।
घटनाका क्रममा सुर्खेतमा १० जना आन्दोलनकारी र दुई जना सुरक्षाकर्मी घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।
स्थिति नियन्त्रणबाहिर गएपछि मंगलबार साँझ ४:३० बजेदेखि वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिएको छ भने बुधबार बिहानैदेखि नेपाली सेनाले सडकमा गस्ती गरिरहेको छ।
जुम्लामा प्रदर्शनकारीले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाका पार्टी कार्यालय तथा चन्दननाथ नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। झडपमा एक प्रहरी, एक नगर प्रहरी र एक आन्दोलनकारी घाइते भएका छन्।
कालिकोटमा पनि प्रमुख दलका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ। दुई दिनदेखि बजार, विद्यालय र सरकारी कार्यालय पूर्ण रूपमा बन्द छन्।
मुगुमा कांग्रेस र एमालेका पार्टी कार्यालय तोडफोड भएका छन्। प्रदर्शनकारीले छायाँनाथ रारा नगरपालिकाको मेयरको कार्यकक्षमा पसेर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जलाएका थिए।
जाजरकोट, हुम्ला, दैलेख, सल्यान, डोल्पा र रुकुमपश्चिममा पनि प्रदर्शन भए पनि कुनै अप्रिय घटना नभएको र सार्वजनिक सम्पत्तिमा क्षति नपुगेको प्रहरीले जनाएको छ।
रुकुमपश्चिम र मुगुबाहेक कर्णालीका अन्य सबै जिल्लामा सेनाले गस्ती गरिरहेको छ। प्रदेशभर विद्यालय, बजार र सार्वजनिक यातायात बन्द रहेका छन्, जसले जनजीवन प्रभावित बनेको छ।
भदौ २५, २०८२ बुधबार १६:११:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।