जेन-जी आन्दोलनमा राजावादीहरूको घुसपैठ, गरेका थिए सामाजिक सञ्जालबाट उकास्ने प्रयास

जेन-जी आन्दोलनमा राजावादीहरूको घुसपैठ, गरेका थिए सामाजिक सञ्जालबाट उकास्ने प्रयास

काठमाडौं : सुरूवातमा स्वतःस्फूर्त र नेतृत्वविहीन देखिएको ‘जेन-जी’ आन्दोलनमा विभिन्न राजनीतिक समूह, विशेषगरी राजावादी शक्तिहरूले घुसपैठ गरी आफ्नो एजेन्डा स्थापित गर्न खोजेको स्पष्ट संकेतहरू देखिएका छन्।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरू प्रयोग गर्दै उनीहरूले आन्दोलनकारीलाई उकास्ने, प्रतीकात्मक सन्देशहरू प्रवाह गर्ने र आन्दोलनको दिशालाई राजसंस्थाको पक्षमा मोड्ने संगठित प्रयास गरेको देखिएको हो।

यसको सबैभन्दा बलियो उदाहरण फेसबुकमा ‘ज्याकसन’ नामक पेजबाट गरिएको एक पोस्ट हो। सिंहदरबारमा भएको भीषण आगजनीका बीच पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक सुरक्षित रहेको भन्दै उक्त पेजले सांकेतिक अर्थ निकाल्ने प्रयास गरेको छ।

पेजमा लेखिएको छ, ‘सिंहदरबारमा भएको भीषण आगजनीका बीच पनि राष्ट्रिय एकताका प्रतीक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक सतीसालझैँ अडिग उभिएको देखिएको छ। आन्दोलनकारीहरूले शालिकलाई जोगाएका छन्।’

यो प्रयास फेसबुकमा मात्र सीमित छैन। जेन-जी पुस्तामाझ सबैभन्दा लोकप्रिय मानिने टिकटकमा ‘विल्ड हंक’ जस्ता आइडीबाट पनि राजावादी विचारको प्रचार  गर्ने र आन्दोलनकारीलाई उकास्ने खालका भिडियोहरू प्रसारित भइरहेका छन्।

@wild.hunk7 Gen z ko Anadolan Banda huni vaneyko Aaba neytha haru marisi Matra ho sedina Gen Z Andolan 😡🤬#foryou #support #GenZ #pokhara #viral ♬ original sound - wild hunk

यसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आबद्ध व्यक्तिहरू पनि यो अभियानमा सक्रिय देखिएका छन्।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र निकट मानिने अर्जुन खनाल जस्ता नेताहरूले सामाजिक सञ्जालमा निरन्तर जेन-जी आन्दोलनलाई उकास्ने र गणतान्त्रिक व्यवस्थाप्रति वितृष्णा फैलाउने खालका सामग्रीहरू पोस्ट गरेको देखिन्छ।

यसका अलावा ‘जेन-जी नेपाल’ नामक ग्रुपको हिस्ट्री हेर्दा पनि यो ग्रुपको सुरुवात २०१८ मा भएको थियो। सो समयमा यो ग्रुप ‘राजतन्त्र- हाम्रो आस्था र भरोसा’ राखिएको थियो भने बीचमा सेयर बजारको नाममा सक्रिय भएको थियो।

यसका अलावा शिवसेना नेपाल, पशुपतिनाथ नेपाल हुँदै २०२५ जुलाई १२ मा पुन: राजतन्त्र- हाम्रो आस्था र भरोसा राखिएको थियो। तर ८ सेप्टेम्बरमा यसको नाम जेन-जी नेपाल राखिएको थियो।

राजावादी शक्तिहरूले हालको संकटलाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति लिएको देखिन्छ। उनीहरूले आन्दोलनकारीको आक्रोश र निराशालाई वर्तमान राजनीतिक दल र गणतान्त्रिक व्यवस्थाको असफलताको रूपमा व्याख्या गर्दै राजसंस्थालाई एक मात्र विकल्पको रूपमा प्रस्तुत गर्न खोजेका थिए।

भदौ २५, २०८२ बुधबार १५:१९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।