घर जलेपछि एमाले नेता बस्नेत भन्छन्- ‘शरणार्थी भएँ, परिवारलाई जिउँदै जलाउन खोजियो’

घर जलेपछि एमाले नेता बस्नेत भन्छन्- ‘शरणार्थी भएँ, परिवारलाई जिउँदै जलाउन खोजियो’
फाइल तस्बिर

काठमाडौं : एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ‘जेन-जी’ आन्दोलनका क्रममा आफ्नो घर जलाइएपछि आफू र आफ्नो परिवार ‘शरणार्थी’ बन्नुपरेको पीडा व्यक्त गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो जलेको घरको भिडियो सार्वजनिक गर्दै उनले राजनीतिमा कुनै चासो नराख्ने आफ्नो निर्दोष परिवारलाई घरभित्रै थुनेर जिउँदै जलाउने प्रयास भएको भन्दै आक्रोश पोखेका छन्।

परिवार र आफन्तको सुरक्षाका लागि मौन बसेको तर अब चुप लाग्न नसक्ने भन्दै उनले आफ्नो पीडा सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको भिडियोमा घरमा व्यापक तोडफोड भएको र आगोले जलेर पूर्ण रूपमा कालो भएको देखिन्छ।

बस्नेतले आफ्नो ७७ वर्षीय बुबा, मुटुको शल्यक्रिया गरेकी ७२ वर्षीया आमा र राजनीतिमा संलग्न नरहेकी श्रीमतीलाई घरभित्रै थुनेर आगो लगाइएको उल्लेख गरेका छन्।

‘आफ्नै घरमा आगो लगाउँदै त्यही भुंग्रोमा जिउँदै जलाउने प्रयास गरियो,’ उनले लेखेका छन्, ‘आमाबुबालाई खुवाउने औषधि र एक जोर फेर्ने कपडा पनि झिक्न नदिई घरभित्रका सम्पूर्ण सामग्री जलाएर ध्वस्त पारिएको छ।’

आफू सांसद र मन्त्री बन्नुभन्दा १४ वर्षअघि बुबाले बनाएको घर जलेपछि घरबारविहीन भएको उनले बताए।

उनले आफ्नो आर्थिक अवस्थाबारे खुलाउँदै लेखेका छन्, ‘अब जमिन नबेची नयाँ घर बनाउन सम्भव छैन। राजनीतिक यात्रा, छोरीको विवाह, अन्य घर व्यवहारमा भएको खर्च जोड्दा मैले २ करोड ५० लाख रुपैयाँ ऋण बोकेको छु।’

बस्नेतले आन्दोलनमा गलत व्यक्तिहरूको घुसपैठ भएको र त्यसले हिंसात्मक रूप लिएको बताएका छन्। उनले सहकारी ठगी प्रकरणमा थुनामा रहेका गृहमन्त्री रवि लामिछानेको रिहाइप्रति गम्भीर आपत्ति जनाएका छन्।

‘भयावह त के भयो भने रवि लामिछाने सहित हजारौं गम्भीर अपराधमा संलग्न कैदीहरु जेल जीवनबाट मुक्त गरिए,’ उनले लेखेका छन्, ‘मैले पहिले पनि भनेको थिएँ गलत मानिसहरूले घुसपैठ गरे भने जेनजीको नाममा हिंसा हुन्छ। त्यो आज प्रमाणित भयो।’

आफूमाथि लगाइएका आरोपहरूप्रति शंका भए अनुसन्धान गर्न र दोषी ठहरिए सजाय भोग्न तयार रहेको उनले बताएका छन्। साथै, उनले आफ्नो घरबाट ‘लकर’ फेला परेको हल्लाको खण्डन गर्दै आन्दोलनका अगुवाहरूलाई चुनौती दिएका छन्।

‘म आग्रह गर्दछु आन्दोलनका कमाण्डरहरूले पत्रकारहरूको सामु त्यो लकर खोलून्। यदि त्यहाँ एक हजार रुपैयाँ भेटिन्छ भने मलाई दोषी ठहराउनुस्,’ उनले लेखेका छन्, ‘तर निर्दोष ठहरिए भने हाम्रो घर जलेर, जीवनभरको कमाइ खरानी भएर, परिवार असहाय भएर भोगेको यो पीडाको उपचार कसरी हुन्छ?’

भदौ २५, २०८२ बुधबार १४:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।