निर्वाध पत्रकारितामा अवरोध नगर्न महासंघको अपील, पत्रकारलाई सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले देशको विषम परिस्थितिमा निर्वाध रूपमा पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न सबै पक्षसँग अपिल गरेको छ।
साथै, निषेधित क्षेत्र र कर्फ्यूको समयमा कार्यक्षेत्रमा खटिने पत्रकारहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा, संविधान र कानुनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उपभोग गर्दै सत्यतथ्य र विश्वसनीय समाचार प्रवाह गर्नु पत्रकारको अधिकार र कर्तव्य दुवै भएको स्मरण गराइएको छ।
‘जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्ने सिलसिलामा कहींकतैबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत छ। सम्बद्ध पक्षहरूसँग समन्वयको कार्य पनि भइरहेको छ। र, निर्वाध पत्रकारितामा अवरोध नगर्न महासंघ अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
यसैगरी, महासंघले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै कार्यक्षेत्रमा खटिने पत्रकारहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
पत्रकारको परिचय खुल्ने परिचयपत्र अनिवार्य बोक्न, सम्भव भएसम्म ‘प्रेस’ लेखिएको ज्याकेट लगाउन, समूहमा रहेर काम गर्न र आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न महासंघले सबै पत्रकारहरूलाई आग्रह गरेको छ।
भदौ २५, २०८२ बुधबार १४:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।