जेएनजी आन्दोलनको आवरणमा कुख्यात अपहरणकारी उदय रसुवा कारागारबाट निस्किए, मोटरसाइकल चढेर भागे

काठमाडौं : भारतमा बसेर नेपालमा संगठित अपहरणको जालो फैलाएका कुख्यात अपहरणकारी उदय सेट्टी रसुवा कारागारबाट भागेका छन्।
युवा पुस्ताको आन्दोलनको प्रभावसँगै रसुवाको कारागारमा रहेका सबै कैदी-बन्दी जेलबाट निस्किएसँगै सेट्टी पनि कारागारबाट निस्किएका हुन्।
एक सुरक्षा अधिकारीका अनुसार उनलाई रोक्ने प्रयास गरे पनि अन्य कैदी बन्दीको प्रतिरोधका कारण सुरक्षाकर्मी सफल भएन। उनी बाहिर निस्किए लगत्तै मोटरसाइकल चढेर भागेका छन्।
उदयलाई पहिला नख्खु कारागारमा राखिएको थियो। त्यहाँका कैदी बन्दीसँग मिलेर निरन्तर झडप गरेर कारागार नै नियन्त्रणमा लिने हर्कत गरेपछि उनलाई रसुवा कारागारमा सरुवा गरिएको थियो।
भारतीय नागरिक रहेका उदय पक्राउ पर्नु अगाडिसम्म २०६३ ताका नेपालमा उनी आतङ्कको नाइके बनेका थिए।
उद्योगी, चिकित्सक, व्यापारीको अपहरण गरेर फिरौती असुल्न उनी अर्का कुख्यात अपहरणकारी अमर टण्डनसँग मिलेर नेपालमा समूह नै परिचालित गरेका थिए। उनको पक्राउसँगै नेपालमा संगठित अपहरणको घटना ह्वात्तै घटेको थियो।
सेट्टीको डरलाग्दो जालो
काठमाडौँका व्यापारी र मेडिकल कलेज सञ्चालकहरूमा भारतीय नम्बरबाट कल आएपछि सातो जाने अवस्था थियो २०६३ ताका। धेरै व्यापारी र मेडिकल कलेज सञ्चालक अनि चिकित्सकहरूको अपहरण भइरहेको थियो। अपहरण अगाडि भारतीय नम्बरबाट फोन गर्ने व्यक्ति हुन्थे अमर टण्डन।
उनी सिधै अपहरणको धम्की दिँदैनथे। आफ्नो केही व्यवहार मिलाउनु छ भन्दै व्यापारी र चिकित्सकसँग पैसा माग्थे। नदिए अपहरण गरेर पनि असुल्थे।
ओमकार भट्टचन, पशुपति पेन्ट्सका महेश मुरारका सहित शिव सरावगी, सुमीत शेरचन, पवन अग्रवाल, अमित्य गुरुङ, उमेश गर्ग, दिलीप अग्रवाल, ईश्वरदत्त पाण्डे, टिकाराम अर्यालसँग यो समूहले अपहरण गरेर फिरौती असुलेका थिए।
टण्डन भारतमा बस्थे। उनको समूहका अर्का सदस्य थिए भारतीय नागरिक उदय सेट्टी। जुन व्यापारीसँग पैसा मागेको हो उसले नदिए नेपालमा रहेका उनको समूहका सदस्य प्रह्लाद महत, विष्णु जिसी, बुढाथोकी, बङ्गुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की अनि अनिल गुरुङले व्यापारीको अपहरण गरेर रकम असुल्थे।
नेपालमा शृङ्खलाबद्ध अपहरणका घटना भएपछि महानगरीय प्रहरी अपराध महाशाखाले टण्डनलाई खोज्न एक प्रहरीलाई भारतमै पठाएर उतैबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। तर टण्डन पक्राउपछि पनि सेट्टीले नेपालमा अपहरणको धन्दा जारी राखे। नीरज कक्षपतिलगायतको अपहरण गरेर फिरौती असुलेको घटनाको अनुसन्धाकोक्रममा यी दुवै उदयसँगै प्रह्लाद समेत पक्राउ परेका थिए।
उनीहरूले १२ जनाको अपहरण गरेको खुलेपछि अपहरण तथा शरीर बन्धकको अभियोग लाग्यो। व्यवसायी पशुपति मुरारकाको अपहरणकोक्रममा तर्साउन पेस्तोल निकाल्दा पेस्तोल पड्किएर गोली लाग्दा आफ्नै समूहका सदस्य सुदीप मैनाली घाइते भएपछि उपचार गर्न लैजाँदा पोल खुल्ने भयले गोली हानेर हत्या गरेका थिए।
उनीहरूले तिलगंगा क्षेत्रमा मैनालीको हत्या गरेर गौरीघाट पूर्याएर शव फालेका थिए। मैनालीको परिवारले कर्तव्य ज्यानमा जाहेरी दिएका थिए। टण्डन समूहमाथि यी दुवै केसमा मुद्दा अगाडि बढ्यो। कर्तव्य ज्यानमा २० वर्ष अनि अपहरणमा १२ वर्ष कैद सजाय भयो सबैलाई।
अमर टण्डन पक्राउ परे पनि उदय भारतमै थिए। पहिला टण्डनसँग मिलेर अपहरण सुरु गरेका समूहले टण्डन पक्राउ परेसँगै सेट्टीसँग मिलेर अपहरण सुरु गरेका थिए। उनीहरूले कक्षपतीसहित दुई जनाको अपहरण गरेर करोडौँ फिरौती असुलेका थिए। पछि सेट्टी समेत पक्राउ परेका थिए। तीनै समूहका सदस्यहरूमध्ये २ जना तोकिएको कैद सजाय पुरा हुनु ७ वर्ष अगाडि नै कारागारमुक्त भएका छन् असल चालचलनको नाममा।
सरकारले तीन वर्ष अगाडि संविधान दिवसका दिन असल चाल चलन देखिएका कैदीलाई छाड्ने निर्णय गर्दै खुङ्खार अपहरणकारी टण्डनसँगै प्रह्लाद महत र विष्णु जिसीलाई समेत छाडेको थियो। ‘परिवर्तनको आन्दोलन’ को प्रभावले मंगलबार उदय पनि मुक्त भए।
भदौ २५, २०८२ बुधबार १३:३९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।