जेन-जी प्रदर्शन : मृतकको संख्या २५ पुग्यो, सिभिल अस्पतालमा रहेका छ जनाको शव सनाखत हुन सकेन

जेन-जी प्रदर्शन : मृतकको संख्या २५ पुग्यो, सिभिल अस्पतालमा रहेका छ जनाको शव सनाखत हुन सकेन

काठमाडौं : सोमबार र मंगलबार भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका झडपमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार तथ्यांक सार्वजनिक गर्दै देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार, आन्दोलनका क्रममा हालसम्म सात सयभन्दा बढी घाइते भएका छन्। तीमध्ये १९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४१३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

मृत्यु हुनेहरूमध्ये सबैभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेज (केएमसी) मा २ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र पोखराको फेवासिटी अस्पतालमा ३ जना रहेका छन्।

सिभिल अस्पतालमा सनाखत हुन बाँकी
काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा मात्रै उपचारका क्रममा ६ जना पुरुषको मृत्यु भएको छ, तर उनीहरू कसैको पनि सनाखत हुन नसकेको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

‘हामीकहाँ मृत्यु भएका कसैको पनि सनाखत भएको छैन’, उनले भने।

अस्पतालमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ, जसमध्ये दुई जना पुरुषको अवस्था गम्भीर रहेको डा. रेग्मीले बताए।

उनका अनुसार, अस्पतालमा घाइतेहरूको निरन्तर शल्यक्रिया भइरहेको छ र हालसम्म ३५ जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ। घाइतेमध्ये अधिकांशलाई गोली लागेको पाइएको छ।

अन्य अस्पतालहरूमा मृत्यु भएकाहरूको सनाखतको अवस्थाबारे भने यकिन विवरण आइसकेको छैन।

भदौ २५, २०८२ बुधबार १३:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।