रविको रिहाइले निम्त्याएको कारागार विद्रोह, देशभरका जेलबाट भाग्दै कैदीबन्दी

काठमाडौं : नख्खु कारागारबाट एक राजनीतिक व्यक्तिको विवादास्पद रिहाइले देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ, जसले देशको सुरक्षा व्यवस्थालाई नै तहसनहस बनाएको छ।
‘जेन-जी’ आन्दोलनले सिर्जना गरेको संकटको फाइदा उठाउँदै पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्ने निर्णयले देशैभरका कारागारहरूबाट हजारौं कैदीबन्दीहरू भागेका छन्।
कारागार विद्रोहको शृंखला नख्खुबाट सुरू भयो। आन्दोलनको तनावपूर्ण अवस्थाका बीच लामिछानेलाई रिहा गर्न एक पत्र तयार पारियो, जसमा ‘राजनीतिक प्रतिशोध’, ‘मुद्दा फिर्ता प्रक्रिया’, ‘थप अन्याय हुन सक्ने’ जस्ता आधार देखाउँदै ‘गृह सचिवको निर्देशन’ भन्दै छाड्ने उल्लेख थियो।
अन्य कैदीबन्दीलाई छाड्नु नपरोस् र विद्रोह नहोस् भनेर कारागार प्रशासनले ‘सुरक्षाको कारण’ देखाउँदै उनलाई परिवारको जिम्मा लगायो। पत्रमा पहिला भदौ २३ गतेको मिति लेखिए पनि पछि सच्याएर २४ गते बनाइएको छ।
यो २०७२ सालको भूकम्पमा कारागार भत्किँदा कैदीहरूलाई परिवारको जिम्मा लगाएर पछि फिर्ता बोलाइएको घटनासँग मिल्दोजुल्दो थियो। तर, यसपटकको परिस्थिति फरक थियो र प्रशासनको यो कदम प्रत्युत्पादक बन्यो।
रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको देखियो भने तत्कालै नख्खु कारागारभित्रै विद्रोह सुरू भयो। रविलाई छाडेपछि प्रशासन अन्य कैदीहरूलाई छाड्न बाध्य भयो र नख्खु कारागार रित्तिन पुग्यो।
नख्खुको यो घटनालगत्तै रौतहटको गौर, कपिलवस्तुको तौलिहवा र बझाङका कारागारहरूमा पनि विद्रोह भयो। रौतहटबाट २६०, कपिलवस्तुबाट ४३५ र बझाङबाट ६५ कैदीबन्दी भागे। कपिलवस्तुमा त कैदीहरूले जिल्ला अदालतमा समेत आगजनी र तोडफोड गरे।
रसुवामा पनि कैदीबन्दीहरूले जेलभित्र प्रदर्शन गरिरहेका छन् भने केही प्रदर्शनकारी भागिसकेका छन्। अहिले भित्र भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर अवस्था नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रयासरत छ।
काठमाडौंको डिल्लीबजार कारागारमा पनि कैदीहरूले भाग्ने प्रयास गरे, जसलाई नियन्त्रणमा लिन सेनाले हवाई फायर गर्नुपर्यो।
अहिले देशभर कर्फ्यू जारी छ र सडकमा सेना परिचालन भएको छ। हजारौंको संख्यामा भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिनु र समाजमा शान्ति सुरक्षा पुनर्स्थापना गर्नु अब सुरक्षा निकायका लागि मुख्य चुनौती देखिएको छ।
भदौ २५, २०८२ बुधबार १३:३७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।