लुटिएका हतियार तत्काल बुझाउन सेनाको आग्रह

लुटिएका हतियार तत्काल बुझाउन सेनाको आग्रह

काठमाडौं : नेपाली सेनाले ‘जेन-जी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका वा फेला परेका हतियार, गोलीगट्ठा तथा अन्य सुरक्षा सामग्रीहरू तत्काल नजिकको सुरक्षा निकायमा बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

हतियार नबुझाई साथमा राखेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने सेनाले चेतावनी दिएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा कसैले सुरक्षाकर्मीबाट हतियार वा सुरक्षा सामग्री लिएको वा फेला पारेको भए यथाशीघ्र बुझाउन अनुरोध गरेको हो।

‘त्यस्ता हातहतियारहरूको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरूले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

सेनाले यो संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरूको अनाधिकृत प्रयोग नगर्न पनि सचेत गराएको छ।

विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ, ‘उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ।’

भदौ २५, २०८२ बुधबार ११:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।