आफूहरूलाई छोड्नुपर्ने भन्दै डिल्लीबजार कारागारमा कैदीबन्दीको विद्रोह : प्रहरीद्वारा हवाइ फायर, स्थिति नियन्त्रणमा लिन सेना पुग्यो

आफूहरूलाई छोड्नुपर्ने भन्दै डिल्लीबजार कारागारमा कैदीबन्दीको विद्रोह : प्रहरीद्वारा हवाइ फायर, स्थिति नियन्त्रणमा लिन सेना पुग्यो

काठमाडौं : अन्य कारागारबाट कैदीहरू छुटेको भन्दै आफूहरूले पनि छुट्न पाउनुपर्ने माग राख्दै डिल्लीबजार कारागारका कैदीबन्दीले विद्रोह गरेका छन्।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हवाई फायर गरेको छ भने अवस्था नियन्त्रणमा लिन नेपाली सेनाको टोली परिचालन गरिएको छ।

चारखालस्थित कारागारभित्र कैदीबन्दीले ढुंगामुढा प्रहार गर्दै नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो।

कारागार प्रशासनका अनुसार, देशका अन्य कारागारबाट कैदीबन्दीहरू भागेको/छुटेको समाचारपछि यहाँका कैदीहरूले पनि आफूहरूलाई रिहा गर्नुपर्ने माग राखेका थिए।

माग पूरा नभएपछि उनीहरूले गरेको प्रदर्शनले उग्र रूप लिँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो।

अवस्था थप बिग्रन नदिन र कारागारको सुरक्षा सुदृढ गर्न हाल नेपाली सेनाको एक टोली घटनास्थलमा पुगेको छ।

सेनाले कारागारलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको र वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

भदौ २५, २०८२ बुधबार ११:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।