सेनाको अपडेट : लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख नगद र ३१ थान हतियार बरामद

काठमाडौं : नेपाली सेनाले देशव्यापी प्रदर्शनपछि लुटपाट र आगजनी जस्ता विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको जनाएको छ।
मंगलबार रातिदेखि बुधबार बिहानसम्मको कारबाहीमा सेनाले ठूलो परिमाणमा नगद र हतियारसमेत बरामद गरेको छ।
सेनाले जारी गरेको सुरक्षा अपडेट अनुसार, भदौ २४ गते राति १० बजेदेखि देशैभर सुरक्षा निकाय परिचालन भएपश्चात आज बिहान १० बजेसम्मको अवधिमा उक्त कारबाही गरिएको हो।
पक्राउ परेका व्यक्तिहरू काठमाडौंसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले अराजक गतिविधिमा संलग्न थिए।
कारबाहीका क्रममा काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको छ।
यसैगरी, सुरक्षाकर्मीले काठमाडौंका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल विभिन्न किसिमका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरेको छ।
अपडेटमा आगजनीका घटना नियन्त्रणका लागि तीनवटा बारुणयन्त्र (दमकल) प्रयोग भइरहेको पनि उल्लेख छ।
झडपका क्रममा घाइते भएका २३ जना नेपाल प्रहरीका कर्मचारी र ३ जना सर्वसाधारणको सैनिक अस्पतालहरूमा उपचार भइरहेको सेनाले जनाएको छ।
भदौ २५, २०८२ बुधबार ११:००:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।