सर्वोच्चको हस्तलिखित सूचना- अर्को सूचना नआएसम्म सबै मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्चको हस्तलिखित सूचना- अर्को सूचना नआएसम्म सबै मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : मंगलबार भएको आगजनीका कारण सर्वोच्च अदालत पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अदालतका सम्पूर्ण कामकारबाही अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सर्वोच्च अदालतले बुधबार एक हस्तलिखित सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै मुद्दाहरूको सुनुवाइ रोकिएको जानकारी दिएको हो।

मुख्य रजिष्ट्रार शम्भु खड्काद्वारा हस्ताक्षरित सूचनामा मंगलबारको आगजनीले अदालतको भवन, मुद्दाका मिसिल, अभिलेख (सम्भर) र इजलाससमेत जलेर नष्ट भएको उल्लेख छ।

भौतिक संरचना र महत्वपूर्ण कागजातहरू पूर्ण रूपमा जलेकाले तत्काल कामकारबाही सुचारु गर्न असम्भव भएको सूचनामा जनाइएको छ।

‘मिति २०८१।५।२४ गते भएको आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रुपमा जलि अदालतमा रहको मुद्दा, मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेशी स्थगित गरिएको र भोलिदेखि पेशीमा रहेका मुद्दाहरुको सुनुवाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।

अदालतले सेवा अवरुद्ध हुँदा सर्वसाधारण र सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको छ।

यो निर्णयसँगै देशको सर्वोच्च न्यायिक निकायको काम कारबाही पूर्ण रूपमा ठप्प भएको छ।

भदौ २५, २०८२ बुधबार १०:२९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।