साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा, त्यसपछि कर्फ्यू

साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा, त्यसपछि कर्फ्यू

काठमाडौं : नेपाली सेनाले बुधबार साँझसम्म देशभर निषेधाज्ञा र त्यसपछि भोलि विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा अराजक र हिंसात्मक गतिविधि बढेपछि शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको सेनाले जनाएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार, भदौ २५ गते साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यूमा जारी रहनेछ।

सेनाले आन्दोलनको नाममा विभिन्न व्यक्ति तथा समूहहरूले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा घुसपैठ, तोडफोड, आगजनी, लुटपाट र बलात्कारको प्रयास जस्ता गम्भीर आपराधिक क्रियाकलाप गरिरहेकोले देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यू लगाउनु परेको स्पष्ट पारेको छ।

निषेधाज्ञा र कर्फ्यू अवधिभर एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू भने सञ्चालन हुन पाउनेछन्। आवश्यक सहजताका लागि नजिकैको सुरक्षा निकायसँग समन्वय गर्न पनि सेनाले सबैलाई अनुरोध गरेको छ।

सेनाले सैनिक, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकलाई सामाजिक सञ्जालमा फैलिने अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको छ।

विज्ञप्तिमा जुनसुकै परिस्थितिमा पनि आम नागरिकको सुरक्षा र मानवीय उद्धारमा सेना प्रतिबद्ध रहेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्न खटिएका सुरक्षाकर्मीलाई सहयोग गर्न अपील गरिएको छ।

भदौ २५, २०८२ बुधबार ०९:४८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।