‘संसद भवनमा ३२ जना मृत फेला’ भन्ने हल्ला झुटो, भ्रामक समाचारप्रति सचेत रहन प्रहरीको आग्रह

काठमाडौं : नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विशेषगरी, ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ शीर्षकमा पुरानो र असम्बन्धित तस्बिर प्रयोग गरी फैलाइएको हल्ला पूर्ण रूपमा झुटो र नियोजित भएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीका अनुसार, अन्य देशमा घटेका पुराना हिंसात्मक घटनाका तस्बिरहरूलाई हालको नेपालको आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा पोस्ट गरिएको पाइएको छ।
यस्ता सामग्रीले जनमानसमा डर, त्रास र भ्रम सिर्जना गरी स्थितिलाई थप भड्काउने उद्देश्य राखेको प्रहरीको भनाइ छ।
नेपाल प्रहरीले यस्तो विषम परिस्थितिमा नकारात्मक र भ्रामक समाचार सिर्जना गर्ने, सेयर गर्ने वा त्यसमा विश्वास गर्ने कार्य नगर्न र नगराउन आम नागरिकलाई विशेष अनुरोध गरेको छ।
साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।
भदौ २५, २०८२ बुधबार ०९:३०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।