बझाङ जेलब्रेक : फरार ६५ मध्ये चार कैदी पक्राउ, ६१ को खोजी जारी

बझाङ जेलब्रेक : फरार ६५ मध्ये चार कैदी पक्राउ, ६१ को खोजी जारी

चैनपुर  : बझाङ जिल्ला कारागारबाट मंगलबार राति जेल तोडेर भागेका ६५ जना कैदीबन्दीमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कारागारको मुख्य गेटको ताला तोडी सुरक्षाकर्मीलाई धम्की दिँदै भागेका उनीहरूलाई प्रहरीको विशेष खोजी टोलीले भागेकै रात सदरमुकाम चैनपुर बजारबाट नियन्त्रणमा लिएको हो।

जेलर राजेन्द्र फराडाका अनुसार, घटनालगत्तै थप सुरक्षा बल परिचालन गरी खोजी अभियान सुरु गरिएको थियो।

सोही क्रममा तीन जनालाई राति करिब साढे ११ बजे र एक जनालाई राति १ बजे चैनपुर बजारमा घुमिरहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई पुनः कारागारमा राखिएको छ। योसँगै बझाङ कारागारमा हाल कैदीबन्दीको संख्या २४ पुगेको जेलर फराडाले जानकारी दिए।

प्रहरीले फरार रहेका अन्य ६१ जना कैदीबन्दीको खोजी कार्यलाई तीव्र पारेको र जिल्लाका सबै नाकाहरूमा सुरक्षा जाँच कडा बनाइएको जनाएको छ।

भदौ २५, २०८२ बुधबार ०९:२२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।