गौर कारागार तोडेर २६० कैदी फरार, दर्जनौं सरकारी कार्यालयमा आगजनी

गौर : मंगलबारको प्रदर्शनले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरस्थित जिल्ला कारागार तोडेर २६० जना कैदी फरार भएका छन्।
प्रदर्शनकारीले जिल्लाका विभिन्न नगरपालिका र सरकारी कार्यालयहरूमा समेत तोडफोड र आगजनी गरेका छन्, जसले जिल्लाको शान्ति सुरक्षामा गम्भीर चुनौती थपिएको छ।
कारागार प्रशासनका अनुसार, कुल २९१ कैदी रहेकोमा २६० जना भाग्न सफल भएका हुन् भने ३१ जना कैदी कारागारभित्रै रहेका छन्।
घटनापछि जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ।
कारागार तोड्नुका साथै प्रदर्शनकारीको समूहले चन्द्रपुर, मौलापुर, गौर र गरुडा नगरपालिकाका भवनहरूमा क्षति पुर्याएका छन्।
यसैगरी, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ। जिल्ला प्रशासन र मालपोत कार्यालयमा ढुंगामुढा प्रहार भएको थियो।
प्रदर्शनका कारण रौतहटको जनजीवन त्रसित बनेको छ भने जिल्लाभर सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
भदौ २५, २०८२ बुधबार ०९:०६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।