कतारमा इजरायली हवाई हमला : हमासका ५ सदस्यको मृत्यु, वार्ता टोलीलाई मार्ने प्रयास 'असफल' भएको दाबी

कतारमा इजरायली हवाई हमला : हमासका ५ सदस्यको मृत्यु, वार्ता टोलीलाई मार्ने प्रयास 'असफल' भएको दाबी

दोहा : प्यालेस्टिनी सशस्त्र समूह हमासले कतारको राजधानी दोहामा भएको इजरायली हवाई हमलामा आफ्ना पाँच सदस्य मारिएको पुष्टि गरेको छ।

यद्यपि, संगठनले युद्धविरामका लागि वार्ता गरिरहेको आफ्नो टोलीको हत्या गर्ने प्रयास भने "असफल" भएको दाबी गरेको छ।

हमासका अनुसार, जब दोहास्थित एक आवासीय भवनमा शक्तिशाली विस्फोट भयो, त्यसबेला वार्ता टोली गाजा पट्टीमा युद्ध रोक्नका लागि अमेरिकाले ल्याएको पछिल्लो प्रस्तावमाथि छलफल गरिरहेको थियो।

हमासले कुनै प्रमाण बिना जारी गरेको एक विज्ञप्तिमा भनेको छ, ‘वार्ता प्रतिनिधिमण्डलका हाम्रा भाइहरूको हत्या गर्ने दुश्मनको प्रयास असफल भएको हामी पुष्टि गर्दछौं।’

संगठनले हमलामा मारिएका आफ्ना पाँच सदस्यको नाम पनि सार्वजनिक गरेको छ, जसमा हमासका वरिष्ठ नेता खलिल अल-हयाका छोरा हुमाम र उनको कार्यालयका निर्देशक जिहाद लबादसमेत छन्।

हमासले यस हमलाका लागि इजरायली सेनालाई समर्थन दिएको भन्दै अमेरिकी प्रशासनलाई पनि ‘संयुक्त रूपमा जिम्मेवार’ ठहराएको छ।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त हमला "पूर्ण रूपमा जायज" भएको बताएका छन्। उनका अनुसार, ७ अक्टोबर २०२३ मा इजरायलमा हमला गराउने हमासका वरिष्ठ नेताहरूलाई निशाना बनाइएको थियो।

आयोजक राष्ट्र कतारले इजरायली हमलाको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण’ र ‘अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन’ भनेको छ।

भदौ २५, २०८२ बुधबार ०८:२९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।