दुई दिनको आन्दोलनपछि काठमाडौंमा जनजीवन सामान्य बन्दै, सडकमा सेनाको गस्ती भने कायमै

दुई दिनको आन्दोलनपछि काठमाडौंमा जनजीवन सामान्य बन्दै, सडकमा सेनाको गस्ती भने कायमै

काठमाडौं : दुई दिनको ‘जेन-जी’ आन्दोलनपछि काठमाडौं उपत्यकाको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ।

आज बिहानैदेखि सडकमा निजी तथा सार्वजनिक सवारी साधनको सामान्य आवतजावत देखिएको छ भने किराना, तरकारी र डेरी जस्ता अत्यावश्यक पसलहरू पनि खुलेका छन्।

काठमाडौंका पुरानो बानेश्वर, बालाजु, महाराजगञ्ज र कलङ्की वरपरका क्षेत्रमा मानिसहरूको चहलपहल सुरू भएको छ।

प्रदर्शनका कारण फोहोर भएका केही सडकहरूमा ब्रुमर प्रयोग गरेर सफा गर्ने काम पनि सुरू गरिएको छ।

यद्यपि, सम्भावित उच्छृंखल गतिविधि रोक्न र शान्ति सुरक्षा कायम राख्न काठमाडौंका प्रमुख सडक तथा चोकहरूमा नेपाली सेनाको उपस्थिति बाक्लो छ।

मंगलबारको प्रदर्शनका क्रममा भएको भौतिक क्षति र अराजक स्थितिलाई नियन्त्रणमा लिन गएराति १० बजेदेखि सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन्।

सेनाले सडकमा हिँड्ने सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दै आएको छ। आकस्मिक सेवामा संलग्न व्यक्तिहरूलाई भने परिचयपत्र र सोधपुछका आधारमा आवतजावत गर्न दिइएको छ।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिले सहरमा शान्ति सुरक्षाको प्रत्याभूति गराएको छ भने नागरिकहरू आफ्नो दैनिकीमा फर्कन थालेका छन्।

भदौ २५, २०८२ बुधबार ०७:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।