काठमाडौंका चोक-चोकमा सेनाको कडा सुरक्षा जाँच, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौं : मंगलबारको प्रदर्शनपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाले काठमाडौंका मुख्य चोकहरूमा सुरक्षा जाँच कडा पारेको छ।
मंगलबारको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको भौतिक क्षति र सम्भावित उच्छृंखल गतिविधिलाई रोक्न गएराति १० बजेदेखि नै सुरक्षा निकायलाई सडकमा उतारिएको हो।
नयाँ बानेश्वर, कोटेश्वर, बालाजु लगायतका प्रमुख स्थानहरूमा सेनाले बिहानैदेखि गस्ती बढाउँदै सवारीसाधन र पैदलयात्रीमाथि निगरानी गरिरहेको छ।
सेनाले अवस्थाको मूल्यांकन गरी अत्यावश्यक काम परेकाहरूलाई मात्र जान दिइरहेको छ भने अन्यलाई घर फर्काइरहेको छ।
सेनाले अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरूलाई भने परिचयपत्र र सोधपुछका आधारमा आवतजावत गर्न छुट दिएको छ। विनाकारण घर वा गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई सम्झाई-बुझाई घर फर्काइएको छ।
प्रदर्शनका क्रममा आगजनी गरिएको नयाँ बानेश्वरस्थित संघीय संसद भवन क्षेत्रमा सेनाले सर्वसाधारणको प्रवेशमा पूर्ण रोक लगाएको छ।
यसका साथै, अन्य सरकारी तथा संवैधानिक निकायहरूको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ, जहाँ सेनालगायत अन्य सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।
भदौ २५, २०८२ बुधबार ०७:३०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।