कोशी, मधेश र बागमतीसहितका क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशभर मनसुन सक्रिय रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको र यो क्रम जारी रहने विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भू-भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
आज राति पनि देशभर बदली रहनेछ। विशेषगरी, मधेश प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
देशका अन्य पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा भने मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
भदौ २५, २०८२ बुधबार ०७:२१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।