लुटपाट प्रयास गर्ने २१ जना पक्राउ, उपत्यकासहित मुख्य सहरमा सेनाको गस्ती

काठमाडौं : दिनभरिको प्रदर्शनपछि उत्पन्न अराजक स्थिति नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभरका मुख्य सहरहरूमा बिहानैदेखि गस्ती बढाएको छ।
यसै क्रममा, गएराति काठमाडौं र भक्तपुरमा लुटपाट प्रयास गर्ने २१ जनालाई सेनाले नियन्त्रणमा लिएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, पक्राउ पर्नेहरूले भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौंको हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोजेका थिए। रात्रिकालीन उच्छृंखल गतिविधि रोक्न सेना परिचालन गरिएको थियो।
शान्ति सुरक्षा थप सुदृढ पार्न सेनाले आज बिहानैदेखि सडकमा उपस्थिति बढाएको हो। सैनिक टोलीले माइकिङ गर्दै सर्वसाधारणलाई शान्ति कायम राख्न र प्रदर्शनजन्य गतिविधिमा संलग्न नहुन अनुरोध गरिरहेको छ।
सेनाले सर्वसाधारणलाई आफ्नो टोल छिमेकमा कुनै पनि उच्छृंखल तथा शंकास्पद गतिविधि देखिएमा तत्काल खबर गर्न पुनः अनुरोध गरेको छ। त्यस्ता घटनाबारे जानकारी दिनका लागि हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप वा भाइबरमा सन्देश पठाउन सकिनेछ।
यसका साथै, सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि स्थानीय बासिन्दालाई एकजुट भई स्थितिको निरन्तर निगरानी गर्न पनि सेनाले आग्रह गरेको छ।
भदौ २५, २०८२ बुधबार ०७:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।