रिपोर्टरको डायरी : जेनजीको आन्दोलनमा बढेको धड्कन

काठमाडौँ : सोमबारदेखि जेनजी पुस्ताले गरेको प्रदर्शनले मंगलबार झन् उग्र रूप लियो। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन केन्द्रित सोमबारको प्रदर्शनले मंगलबार संसद् भवन मात्रै जलाएन, सिंहदरबार समेत बाँकी रहेन।
२०६२-०६२ मा लाखौँ नागरिक सडकमा उत्रिएको जनआन्दोलन पनि देखेकै हो। तर यस्तो डरलाग्दो प्रदर्शन देखिन।
उद्देश्य सोमबारको घाइते र अवस्था बुझ्ने। बिहान उठ्दा कर्फ्यु लागिसकेको थियो। सञ्चारकर्मीको आवागमनको व्यवस्थापन के हो कतैबाट खुलेको थिएन। जे त होला भनेर प्रेस लेखिएको ज्याकेट अनि घाँटीमा कार्ड झुन्ड्याएर बिहान करिब दश बजे घरबाट निस्किएँ।
केएमसी अस्पतालमा घाइतेहरू रहेकाले सिनामंगल पुल हुँदै त्यतै जाँदै थिएँ। त्यही बेलामा सडक टायरको धुवाँले छेकिइसकेको थियो। केएमसी अस्पतालमा सोमबार ३२ जना घाइते ल्याएकोमा दुई जनाको मृत्यु भएको खुल्यो। अन्य डिस्चार्ज भएर मंगलबार २४ जना उपचाररत थिए। यसमध्ये पनि तीन जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दियो।
चैत १५ को आन्दोलनका घाइतेको उपचार सरकारले बेहोर्ने भने पनि यही अस्पतालले पैसा नलिई डिस्चार्ज गरेको थिएन। मंगलबारको अवस्था पनि उस्तै देखियो। मन्त्रालयले उपचार निःशुल्क भने पनि अस्पतालले औषधीको भने पैसा लिइरहेको थियो।
नयाँबानेश्वर चोकमा रहेको सिभिल अस्पताल पुग्न गएकै बाटो फर्किएँ। तर, सिभिल अस्पतालका एक कर्मचारीसँग सम्पर्क गर्दा उनले “यता नआउनु। जोखिम छ” भने।
कारण खुलाउँदै उनले प्रदर्शनकारीहरुले संसद् भवन छिरेर कब्जा गरेको र सिभिल अस्पताल अगाडिको सडक विभागको भवन जलाएर पुरै धुवाँको कुइरिमण्डल बनेको बताए।
सोमबार दिनभरि सिभिल अस्पतालमै बितेको थियो। प्रहरी र प्रदर्शनकारीको चेपुवामा पर्दा अस्पताल भित्रै गोली आयो। अनि टियरग्याँस पनि। जति प्रयास गर्दा पनि बेलुकासम्म अस्पतालबाट बाहिर निस्कनै सकिएन। त्यहाँका कर्मचारीले जे अवस्था बताए अनि मलाई सिभिल अस्पताल जाने आँट आएन।
अनि केएमसीबाट फर्किएर सिनामंगल पुल, पुरानो बानेश्वर चोक, सेतोपुल हुँदै सिंहदरबारको दक्षिण गेट अगाडिबाट बबरमहल निस्किएँ। यो रुटमा हिँड्दा सडकमा टायरहरू बलिरहेकै थिए। प्रहरी भने सिंहदरबार आइपुगेपछि मात्र देखेँ।
धुवाँको मुस्लोभित्र बढेको धड्कन
बबरमहल पुग्दा माइतीघरतर्फबाट ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू बानेश्वरतर्फ अगाडि बढिरहेको देखेँ। उनीहरूले ‘केपी चोर देश छोड’ भन्ने नारा लगाइरहेका थिए।
ठुलै समूह थियो। नारा उग्रै थिए। सडकमा एम्बुलेन्स दौडिरहेका थिए जसको सिसा सद्दे थिएन। काठमाडौं महानगरपालिकाको गाडी नगर प्रहरी सहित पानी बाँड्दै ओहोरदोहोर गरिरहेको देखिन्थ्यो।
महानगरको गाडी देख्ने बित्तिकै प्रदर्शनकारीहरुले ‘बालेन दाइ...’ भन्दै नारा लगाउँथे। अन्य अत्यावश्यक बाहेकका सवारी सडकमा चलेका थिएनन्।
केही बेरमा बबरमहलबाटै बानेश्वरको आकाशमा धुवाँको मुस्लो देखियो। त्यो धुवाँको मुस्लो चीन सरकारले उपहारमा दिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्दाको रहेछ।
अहिले संसद् भवनको रूपमा परिचित भवनमा प्रदर्शनकारीले आगो लगाइदिएका रहेछन्।
बबरमहलबाट बानेश्वर जान हिँडे। दृश्य सोमबारको भन्दा भिन्न थियो सडकको। सडकमा कोही युवा हातमा खुकुरी नै लिएर हिँडेका थिए। कसैको हातमा रड थियो त कसैको हातमा पिक।
हिम्मत गरेरै नयाँबानेश्वर चोक नपुग्दा ड्यांड्यांग र डुङडुङ आवाज आयो। रमिते र प्रदर्शनकारीहरू आत्तिँदै गोली चल्यो... भन्दै बिजुलीबजार पुलतर्फ भागे। म पनि एभरेस्ट अस्पताल नजिकैको गल्लीबाट छिरेर शंखमुलतर्फ लागेँ। त्यहीँबाट भित्रिबाटो हुँदै घुमेर बिजुलीबजार पुल निस्किएँ।
पहिला पुग्दा प्रदर्शनकारीहरू नयाँबानेश्वरतिर गइरहेका थिए। घुमेर फर्कँदा बानेश्वरबाट चर्को नारा लगाउँदै माइतीघरतिर फर्किरहेका थिए।
सेतो सटमा कालो कोट लगाएका जो कोही देखे पनि प्रदर्शनकारीहरू ‘भ्रष्ट वकिल, तँलाई अब ठिक पार्नुपर्छ’ भन्दै चिच्याइरहेका थिए। मेरो पनि सेतै सर्ट थियो।
‘प्रेस’ लेखिएको ज्याकेट त बोकेको थिएँ। तर, लगाइन। पत्रकारको परिचयपत्र पनि घाँटीमा भिरिन। किनकि पत्रकारको परिचयले थप असुरक्षित बनाउने जोखिम देखियो। त्यसैले पत्रकार नभई रमिते बनेर बबरमहल क्षेत्रमा फोटो खिचिरहेँ।
दिउँसो दुई बजेपछि युवा प्रदर्शनकारीको ठूलो भिड बबरमहल क्षेत्रमा नै केन्द्रित थियो। आक्रोशित समूहले केही बेरमा बबरमहलको आर्ट काउन्सिल अगाडि सडकमा टायर बाल्यो। केही बेरमा नै प्रदर्शनकारीले बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालयमा आगो लगाइदिए। एक छिनमा बबरमहल क्षेत्र धुवाँको मुस्लोले कुइरिमण्डल बन्यो। धुवाँले आँखा पोल्न थाल्यो।
बबरमहलमै केही युवाहरू बन्दुक बोकेर हाइहाइ र हुइहुई गर्दै बाइकमा ओहोरदोहोर गरिरहेका थिए। कोही कुर्सीमा लुगा झुन्ड्याउने ह्याङ्गर लिएर हिँडिरहेका थिए। कोही, ल्यापटप, कम्प्युटर, फ्यान, तामाका गाग्रा बोकेर हिँडिरहेका थिए। ती कतै लुटिएको सामान हो भन्ने ठम्याउन समय लागेन।
धुवाँको मुस्लो बढिरहेको थियो। त्यहाँ देखिएका दृश्यले धड्कन पनि बढाइरहेको थियो।
केही बेरमा नै सखाप
धुवाँको मुस्लो छिचोल्दै भित्रिगल्ली हुँदै सिंहदरबारको दक्षिण गेट नजिक पुग्दा गेटैमा धुवाँको मुस्लो देखियो। सिंहदरबार भित्रबाट समेत धुवाँको मुस्लो आइरहेको थियो।
बिहान जाँदा हनुमानथानमा सेना र प्रहरी थिए। तर साँझतिर पुग्दा कोही थिएनन्। त्यहाँ पनि हातमा रड, लौरो बोकेर कोही मोटरसाइकलमा त कोही हिँड्दै गरेका प्रदर्शनकारीहरू थिए। त्यो बेलासम्ममा राज्यका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गरी तीनै अङ्गहरू जलिसकेका थिए।
प्रदर्शनकारीहरुले न कार्यपालिकाको केन्द्र सिंहदरबार बाँकी राखे, न व्यवस्थापिकाको संसद् भवनै छाडे न त न्याय सम्पादन गर्ने सर्वोच्च अदालत, विशेष अदालत अनि जिल्ला अदालतै छाडे।
सडकमा हिँड्दा आफैँ जोगिनुको अर्को विकल्प थिएन। त्यहाँ कसैले आक्रमण गरिहाल्यो भने जोगाउन राज्यको उपस्थिति नै थिएन।
बेलुकाको करिब ६ बजेतिर नजिकै रहेको साथीको कार्यालयमा पुगेँ। अनि भित्रिबाटो हुँदै डराउँदै घर आइपुगेँ। घर आइपुगेको केही समयमा अर्को सूचना आयो “स्वास्थ्य मन्त्रालय त जलाएर खरानी बनाए नि”
करिब चार वर्षदेखि नियमित स्वास्थ्य खरिदको रिपोर्टिङ गर्दा भएका अनियमितताका विवरण फनफनी घुम्यो। दिक्क लाग्यो।
जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा आन्दोलनको आव्हान गरेका थिए। तर भोली उनीहरूले नै स्वास्थ्य मन्त्रालयमा हुने भ्रष्टाचारको छानबिन गर्नुपर्यो भने स्वास्थ्यमा भएको भ्रष्टाचारको प्रमाण फेला पर्ने भवनै जलाए।
दनदनी जलेको भवनभित्र भ्रष्टाचारको फाइल सकुशल रहला र !
भदौ २५, २०८२ बुधबार ०१:२७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।