नेपालको संकटमा सहयोग गर्न राष्ट्र संघ इच्छुक, युवाहरूलाई हिंसात्मक प्रदर्शन नगर्न अपिल

काठमाडौं : संयुक्त राष्ट्रसङ्घ (युएन)ले नेपालमा आन्दोलनरत युवाहरूका माग शान्तिपूर्ण रुपमा सम्बोधन गर्न आह्वान गर्दैं त्यसका लागि सहयोग गर्न तयार रहेको बताएको छ। संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संघ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर रहेको उल्लेख छ।
संघले अत्यधिक शक्ति प्रयोगमा संलग्न व्यक्ति र संरचनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने, आन्दोलनकारीहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारको सम्मान गर्दै कुनै पनि हिंसा नगर्न आग्रह समेत गरेको छ। राज्यका निकायहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनहरूको मान्यतामा आधारित रहेर कानुन कार्यान्वयन गर्न सचेत गराउँदै उसले प्रदर्शनकारीलाई मौलिक स्वतन्त्रता शान्तिपूर्ण ढङ्गले प्रयोग गर्न र हिंसाबाट टाढा रहन आग्रह गरेको छ।
नागरिकहरूका माग सम्बोधन गर्ने उपयुक्त माध्यम संवाद हुने भन्दै उसले बल प्रयोगको अत्यधिक घटनासम्बन्धी सबै आरोपहरू तत्काल स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्ने, नागरिकका चिन्ता र युवाहरूका आवाज, सुनुवाइ गर्नु सबैभन्दा उपयुक्त माध्यम रहेको उल्लेख गरेको छ।
भदौ २४, २०८२ मंगलबार २०:५२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।