नख्खु कारागार रित्तै, सबै कैदी-बन्दीलाई छाडियो

नख्खु कारागार रित्तै, सबै कैदी-बन्दीलाई छाडियो

काठमाडौं : रवि लामिछानेलाई परिवारको जिम्मामा छाडे पनि प्रदर्शनकारीहरूले कारागार बाहिर प्रदर्शन जारी राखेपछि प्रशासनले कारागारमा रहेका सबै कैदीलाई छाडेको छ। आन्तरिक विद्रोह नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको सुरक्षा घेरामा रहेको कारागार बाहिर प्रदर्शनकारी भेला भए लगत्तै सुरक्षाकर्मी निरीह बनेका थिए।

सुरक्षाकर्मी आत्मसमर्पणको शैलीमा आएपछि कारागार प्रशासनले कारागारको ढोका खुल्ला गरिदिएको थियो। त्यसपछि कारागारमा रहेका कैदी बन्दीहरू आ-आफ्नो सामान लिएर कारागारबाट बाहिरिएका थिए। सोमबार जेनजी समूहको आव्हानमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएपछि मंगलबार देशैभर आन्दोलन सुरु भएको थियो।

सोमबारको घटनाको छानबिनको माग गर्दै सुरु भएको आन्दोलन बिस्तारै सरकारविरुद्ध केन्द्रित भएसँगै हिंसात्मक घटना बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुरक्षा घेरामा हेलिकप्टरबाट प्रधानमन्त्री निवासबाट बाहिरिएका थिए। प्रदर्शनकारीहरूले राष्ट्रपति निवास, संसद् भवन, सिंहदरबार लगायतमा आगजनी गरेका थिए।

भदौ २४, २०८२ मंगलबार २०:४१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।