कर्णालीमा जेनजी आन्दोलन : सार्वजनिक सम्पत्ति तोडफोड, पार्टी कार्यालय आगजनीसम्म, पूर्णबहादुरको घर जलाउन गएकालाई गोली

सुर्खेत : सुर्खेतमा जेनजी आन्दोलनकारीहरूले मंगलबार गरेको आन्दोलनमा कर्णाली प्रदेशका १० जिल्लाहरूमा सरकारी कार्यालय र पार्टी कार्यालयहरूमा तोडफोडसँगै आगजनी गरिएको छ।
आन्दोलनकारीहरूले सुर्खेत स्थित कर्णाली प्रदेश सभा, नापी कार्यालय, मालपोत कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, झुप्रा बृहत खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सरकारी वकिलको कार्यालय, मुख्यमन्त्री निवास, भौतिक मन्त्रीको निवास लगायतका सार्वजनिक कार्यालयहरूमा तोडफोडसँगै आगजनी गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्। त्यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास र प्रदेश अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काको निवासमा तोडफोडसँगै आगजनी गरेका छन्।
उनीहरूले कार्यालय र घरका सामग्री र कागजातहरू सडकमा फालेर जलाएका छन्। सोमबार बिहान कर्णाली प्रदेशसभा र मुख्यमन्त्रीको सरकारी निवासअघि विरोध प्रर्दशन गरेका थिए।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न गएका एक जना प्रहरीको गोली लागेर मृत्यु भएको प्रहरी स्रोतको भनाइ छ। दर्जन बढी घाइते भएको प्रहरी स्रोतले बताएको छ। तर, यस विषयमा प्रहरीले पुष्टि भने गरेको छैन।
अवस्था नियन्त्रण बाहिर गएपछि वीरेन्द्रनगरमा कर्फ्यु जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए।
जुम्लामा जेनजी समुहले राजनीतिक दलका पार्टी कार्यालय र सरकारी कार्यालय तोडफोड गरी आगजनी गरेको छ। प्रहरीका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेमकिपा, राप्रपाका पार्टी कार्यालय तोडफोडसँगै आगजनी गरेका हुन्। त्यस्तै चन्दननाथ नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेको छ।
आन्दोलनमा नेपाल प्रहरी र नगर प्रहरीका एक–एक जना र एक जना आन्दोलनकारी घाइते भएका छन्। तोडफोड र आगजनीबाट करोडौँको क्षति भएको प्रहरीले जनाएको छ।
त्यस्तै कालिकोटमा आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका पार्टी कार्यालय तोडफोडसँगै आगजनी गरेका छन्। प्रहरीका अनुसार मंगलबार दिनभरी आन्दोलनकारीहरूले बजार क्षेत्र, विद्यालय र सरकारी कार्यालयहरु पूर्णरुपमा बन्द गरेका थिए।
मुगु प्रहरीका अनुसार आन्दोलनकारीहरूले नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका छन्। कृष्णा चौकबाट सुरु गरिएको प्रदर्शनमा उनीहरुले जिल्ला प्रशासन कार्यालयको मुख्य गेट बजारका विभिन्न क्षेत्रमा टायर बाल्दै विरोध जनाएका उनीहरुले नेपाली काँग्रेसको बिपी स्मृति भवन र नेकपा एमालेको मनमोहन स्मृति भवन तोडफोड गरेका हुन्। उनीहरुले छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्ष भित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए।
जाजरकोटमा जेनजीले बजारभरी र्याली निकाल्दै विरोध प्रदर्शन गरेको छ। जाजरकोट प्रहरीका अनुसार सदरमुकाम स्थित भेरी नगरपालिका–४ तल्लो थाप्ले, ठाँटी गैरीखाली लगायत बजार क्षेत्र हुँदै जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेर उनीहरुले नाराबाजी लगाएका थिए। आन्दोलन शान्तिपूर्ण रहेको थियो।
हुम्लामा पनि जेनजी समुहले जिल्ला प्रशासन कार्यालयको गेड अगाडि टायर बालेर विरोध प्रर्दशन गरेका थिए। जिल्लामा आन्दोलन शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ।
दैलेख प्रहरीका अनुसार जिल्लामा शान्तिपूर्ण प्रदर्शन भएको थियो। त्यस्तै सल्यान प्रहरीका अनुसार जिल्लामा पनि शान्तिपूर्ण आन्दोलन गरिएको थियो। डोल्पा प्रहरीका अनुसार जिल्लामा शान्तिपूर्ण आन्दोलन गरिएको थियो। त्यस्तै रुकुम प्रहरीका अनुसार जिल्लामा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो।
भदौ २४, २०८२ मंगलबार १८:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।