अराजकताको आक्रोशमा दोस्रो पटक जल्यो सिंहदरबार

काठमाडौं : २०३० सालमा प्राकृतिक विपद्का कारण आगलागी भएर जलेको सिंहदरबार मंगलबार सुशासनको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहको कोपभाजनमा पर्यो। भूकम्पबाट क्षतिग्रस्त भएको सिंहदरबार भर्खरै पुनर्निर्माण सकिएर प्रधानमन्त्री कार्यालयको रूपमा सञ्चालनमा आएको थियो। त्यही प्रशासनिक केन्द्र अराजक प्रदर्शनकारीको आक्रोशको निशानामा पर्यो।
१९०४ मा चन्द्र शमसेरले व्यक्तिगत रूपमा २५ लाख खर्च गरेर बनाएका थिए। पछि उनले सिंहदरबार सरकारलाई बेचेका थिए। त्योसँगै यो देशको प्रमुख प्रशासनिक भवनको रूपमा परिचित छ।
२०३० सालमा भएको आगलागीमा धेरैजसो भाग नष्ट भएको सिंहदरबार पुनर्निर्माण गरिएको थियो। सिंहदरबारको पश्चिम गेटमा सुरक्षाका लागि नेपाली सेना खटिने गरेको छ। सिंहदरबारभित्रै सेनाको ब्यारेक समेत छ।
तर सोमबार युवा पुस्ताको प्रदर्शनमा भएको दमनबाट १९ जना नागरिक मारिएको आक्रोशमा मंगलबार विरोध प्रदर्शनमा उत्रिएका समूहमध्येकाहरु सार्वजनिक सम्पत्ति तोडफोडमा केन्द्रित भए।
मंगलबार दिउस नै एक समूहले सिंहदरबारभित्र प्रवेश गर्ने प्रयास गरे पनि सेनाले रोकेको थियो। उनीहरूले पश्चिम गेटको एक भागमा रहेको कोठामा आगो लगाइदिएका थिए। पछि फेरि अर्को समूह सिंहदरबार प्रवेश गर्न गएपछि सेनाले रोक्न सकेन।
उनीहरूले गेटहुँदै भित्र प्रवेश गरे। लुटपाट मच्याए र सिंहदरबारको अघिल्लो भागमा आगो लगाएर हिँडे। अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन।
भदौ २४, २०८२ मंगलबार १८:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।