संकटमा असफल सुरक्षा संगठन

काठमाडौं : राजतन्त्र जोगाउन १९ दिनसम्म आन्दोलन थेगेको नेपाली सेनासहितको सुरक्षा संगठन एकै दिनको आन्दोलनमा पूर्ण असफल भएको छ। २०४६ मा होस् या २०६२-०६३ को आन्दोलनमा होस् जनता सडकमा ढलिरहँदा नारायणहिटीको पर्खालको सुरक्षामा प्रतिबद्ध रहेको सेनाले आफ्नै परमाधिपति राष्ट्रपति निवास समेत जोगाउन सकेन।
शीतल निवास होस् या सिंहदरबार यी सबै सार्वजनिक सम्पत्ति हुन्। यी दुवैको सुरक्षाको जिम्मेवारी सेनामा छ। सिंहदरबारमा त सेनाको ब्यारेकै छ। तर सामान्य सुरक्षा प्रबन्ध समेत गरेको देखिएन सेनाले। संसद् भवन, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिको सुरक्षामा सेना पूर्ण रूपमा असफल देखियो।
दमन हैन, आक्रोशित नागरिकको आन्दोलनलाई हिंसात्मक बन्नबाट रोक्ने जिम्मेवारी सेनासहितको सुरक्षा सङ्गठनकै हो। तर मंगलबार सेनासँगै सशस्त्र प्रहरी बल अनि नेपाल प्रहरीको सुरक्षा संयन्त्र एकै दिनमा असफल भए।
सुशासनको माग गर्नेहरूबाट सडक अराजक समूहले कब्जामा लिइसकेका छन्। सार्वजनिक सम्पत्तीसँगै ब्यक्तीगत सम्पत्तीमा समेत आगजनी शुरु भइसकेकफ छ। शहरमा लुटपाट शुरु भइसक्यो। तर उनीहरूलाई नियन्त्रण गर्न सडकमा सुरक्षा संगठनको उपस्थिति न्युन छ।
अवस्था परिवर्तन गर्ने उद्देश्यले सडकमा आएकाहरू प्रधानमन्त्रीको राजीनामापछि घर फर्किरहेका छन्। तर सडक शान्त छैन। भ्रष्टाचारसँग नजोडिएको नयाँबानेश्वरमा रहेको संसद् भवन, राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार मात्रै हैन सर्वोच्चदेखि जिल्ला अदालतमा समेत आगजनी भयो। १९ नागरिकको मृत्युको जिम्मेवारमाथि कारबाहीको माग गर्दै सुरु भएको विरोध प्रदर्शन लुटपाट र सार्वजनिक सम्पत्तिबाट व्यक्तिगत सम्पत्ति आगजनीको चरणमा पुग्दा समेत सुरक्षाहीन बनेको छ मुख्य राजधानी नै।
सार्वजनिक सुरक्षामा नेपाली प्रहरीको क्षमता कति छ भन्ने चैत १५ को तीनकुनेको घटनाबाटै देखिएको हो। सङ्गठनमा भएको अति राजनीतिकरण र क्षमताभन्दा सत्तासँगको सम्बन्धका आधारमा नेतृत्वमा पुग्दा प्रहरी संगठनको क्षमतामा खिया लागिसकेको थियो। त्यसको नतिजा सोमबार नयाँबानेश्वरमा देखियो। त्यसैको प्रतिरोधमा सुरु भएको विरोध प्रदर्शन नियन्त्रणमा प्रहरी पूर्ण असफल हुनु नयाँ हैन।
दङ्गा नियन्त्रणका लागि गठन गरिएको अर्ध सैनिक बल सशस्त्र प्रहरी बल समेत मंगलबार शान्ति सुरक्षा कायम गर्न पूर्ण रूपमा असफल भयो। उसले आफ्नो ब्यारेक र प्रधान कार्यालयको सुरक्षा बाहेक कतै सक्रिय भएको देखिएन।
भदौ २४, २०८२ मंगलबार १८:१५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।