जेन-जी विद्रोहको जित : १९ जनाको हत्यापछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

जेन-जी विद्रोहको जित : १९ जनाको हत्यापछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं : दुई दिनसम्म चलेको जनविद्रोह, देशव्यापी प्रदर्शन र १९ युवाको बर्बर हत्यापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

जेनजी आन्दोलनको आक्रोशले सिंगो राज्य संयन्त्रलाई नै ध्वस्त पारेपछि र प्रदर्शनकारीले संसद भवनमाथि नै कब्जा गरेपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन्।

उनले नेपालको संविधानको धारा ७७ (१) क बमोजिम राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन्। आजैका मितिदेखि लागू हुने गरी दिइएको राजीनामा पत्रमा देशमा उत्पन्न ‘असामान्य परिस्थिति’ लाई ध्यानमा राख्दै ‘संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहल’ का लागि आफूले पद छाडेको उल्लेख गरेका छन्।

दुई दिनको विद्रोह र अराजकता
प्रधानमन्त्री ओलीको राजीनामा १९ जना निहत्था युवाको रगत र देशव्यापी रूपमा फैलिएको आगोको जगमा आएको हो।

सोमबार सामाजिक सञ्ञालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको शान्तिपूर्ण प्रदर्शनले प्रहरी दमनपछि हिंसात्मक रूप लिएको थियो। दुई दिनको अवधिमा देशले इतिहासकै सबैभन्दा भयावह अराजकता देख्यो।

प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भयो भने सयौं घाइते भए भने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, ऊर्जामन्त्री दीपक खड्का लगायतका घरमा आगजनी भयो। प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाका निवासमा आक्रमण भयो।

एमाले र कांग्रेसका केन्द्रीय कार्यालयहरूमा आगजनी र तोडफोड भयो भने व्यावसायिक प्रतिष्ठानमा आक्रमण: हिल्टन जस्तो पाँचतारे होटल र मन्त्री क्वाटरमा समेत आगजनी भयो।

आज हजारौं प्रदर्शनकारीले सबै सुरक्षा घेरा तोडेर संसद भवनमाथि नै कब्जा जमाए, जसले राज्यको अस्तित्वमाथि नै प्रश्न खडा गर्यो।

राजनीतिक गठबन्धन र संसदको विघटन
सडकमा आगो बलिरहँदा राजनीतिक वृत्तमा पनि भूकम्प गएको थियो। सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाको आह्वानपछि शेखर-गगन पक्षका दुई मन्त्रीले राजीनामा दिएका थिए।

प्रमुख प्रतिपक्षी दल रास्वपाका सबै २१ सांसदले ‘वर्तमान संसदले वैधता गुमाएको’ भन्दै सामूहिक राजीनामा दिएर ‘अन्तरिम नागरिक सरकार’ को माग गरेका थिए।

चौतर्फी घेराबन्दी र राज्य संयन्त्र पूर्णतः असफल भएपछि प्रधानमन्त्री ओलीसँग राजीनामा दिनुको विकल्प थिएन।

अनिश्चित भविष्य
प्रधानमन्त्री ओलीको राजीनामा जेनजी आन्दोलन र सडकमा उत्रिएका नागरिकको जित भए पनि यसले देशलाई गहिरो राजनीतिक संकट र शक्ति शून्यतामा धकेलेको छ।

अब देशको नेतृत्व कसले गर्छ, सडकमा फैलिएको अराजकतालाई कसले नियन्त्रण गर्छ र युवाहरूले उठाएका ‘अन्तरिम सरकार’ जस्ता मागहरूको सम्बोधन कसरी हुन्छ भन्ने पूर्ण रूपमा अनिश्चित छ।

१९ युवाको बलिदानपछि प्राप्त राजनीतिक परिवर्तनले देशलाई कुन दिशामा लैजान्छ, त्यो भने आगामी दिनले नै बताउनेछ।

भदौ २४, २०८२ मंगलबार १४:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।